काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दामा शान्ति सम्झौताको पक्षमा नै आदेश आएको बताएका छन् । सोमबार माओवादी केन्द्र निकट शिक्षक संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले अब शान्ति प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्याउन सहज हुने पनि बताएका छन् ।सर्वोच्च अदालतमा आफूविरुद्ध परेको द्वन्द्वकालीन घटनाको मुद्दाले पार्टी कार्यतालाई चिन्तामा पारेको दाहालको भनाइ थियो ।
अहिले पनि कहीँकतैबाट विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा त्यसको नेतृत्वकर्ता, संविधान निर्माण, संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणमा नेतृत्व गर्नेहरूमाथि कसैले नकरात्मक सोच राखेर नकरात्मक क्रियाकलपा गर्छ भने टिक्दैन, उनले भने, विस्तृत शान्ति सम्झौताभन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीलाई केही हुन लागेको हो कि भनेर देशभरि चिन्ता भयो तर म बिल्कुल चिन्तित थिइनँ । किन चिन्तित थिइनँ भने यो हामीलाई सहयोगी बन्यो । यो विभाजित माओवादीलाई एकै ठाउँमा आउ भनेजस्तो लाग्यो । हामीलाई एक ठाउँमा आउ भनेको जस्तो भयो ।
संक्रमणकालीन न्यायको सिद्धान्तलाई निष्कर्षमा पुर्याउनका लागि सरकारले कदम चालेको र सर्वोच्चले पनि त्यसमा साथ दिने आदेश दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । अदालतको फैसला हाम्रो र शान्ति सम्झौताभन्दा बाहिर गएन, त्यसको पक्षमा नै आयो । चिन्तित हुँदैनौं तर सतर्क हुनैपर्छ, उनले भने । कार्यकर्ता तथा नेताहरूलाई संगठन निर्माणमा लाग्न पनि प्रधानमन्त्री तथा अध्यक्ष दाहालको भनाइ थियो । द्वन्द्वकालीन घटनालाई लिएर केही पहिले सर्वोच्च अदालतमा दाहालविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले दाहालसँग कारण देखाउ आदेश माग गरेको छ ।








प्रतिक्रिया दिनुहोस्