ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सारंगीको कीर्तिपुर घराना


एबीसी / संवाददाता

कीर्तिपुर, २५ फागुन । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारंगी रेट्दै नेपाली संगीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारंगीका तारहरूमा हात चलाएर संगीतकै जीवनवृत्ति सुरु गरिसकेका छन् ।

आधुनिक सुगम संगीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम नेपालीहरूले बिताउन खोजेको सांगीतिक लय । देशका विभिन्न भागमा प्रेम, वीरता, वेदनाका कथा बोक्ने सारंगीको धुनलाई गन्धर्वहरूले निकै अघिदेखि जोगाउँदै आएका छन् । यही संगीत परम्पराको डोरोलाई अहिलेको समयसँग समेत जोडेर व्यापक बनाउने ठुलो अभियान छ नेपालीको ।

यसै अभियानलाई ‘सारंगीको कीर्तिपुर घराना’ नामबाट अगाडि बढाउँदै छन् श्याम नेपाली । घरानाका रूपमा अघि बढाउने निष्कर्षमा पुग्नुको कारक भने फ्रान्सलगायत संसारका विभिन्न स्थानमा पुग्दा भेटिएका आफ्ना पुर्खाको संगीत साधनासम्बन्धी सामग्री हुन् । सारंगीलाई चिनाउन विश्वका विभिन्न देश पुगेका श्यामलाई कतिपय स्थानमा पुग्दा त्यहाँका कतिपय संस्थाले उल्टो उनलाई आफ्ना पुर्खाको योगदानबारे चिनाइदियो । आफ्ना हजुरबुबाले राजा महेन्द्रसामु प्रस्तुत गरेको सारंगी वादन अरर्बाजा र त्यसैताका यसबारे गरेका थुप्रै खोज श्यामले फ्रान्सको लुभ्र सङ्ग्रहालयमा पाए । नर्वे घुम्ने बाबु रामशरण नेपाली र कीर्तिपुरमै लामो समय बिताएका झलकमान गन्धर्वका बारेमा ओस्लो विश्वविद्यालयमा गरिएको शोधपत्र भेटे ।

त्यस्ता कुरा भेटेपछि श्याम नेपाली आफ्ना पुर्खाले सयौँ वर्ष लगाएर विकास गरेको मौलिक सारंगी धुनलाई सकेसम्म उस्तै रूपमा संरक्षण गर्नुपर्ने निष्कर्षमा पुगे । “हजुरबुबा र बाले बजाएका धुनभन्दा अहिलेका धुन निकै फरक हुँदा रहेछन् । उनीहरूकै सन्तति मेरोसमेत सारंगी वादनमा आधुनिकताले छोएको कुरा उहाँहरूको वादन राम्ररी सुन्न थालेपछि थाहा पाएँ”, उनको अनुभूति छ ।

पुर्खाले संगीतमार्फत समाचार भन्थे । आजका सञ्चारमाध्यमले जसरी कर्खामार्फत कुनै घटनाको कहिले राजाका कामको वयान त कहिले जनताका वेदना, कहिले युद्धको विवरण सारंगी रेट्दै घटनालाई प्रस्तुत गर्ने जमाना थियो त्यो । त्यसलाई खोजेर जगेर्ना गर्नुपर्ने दायित्व संगीतप्रेमीहरूको भएको उनको भनाइ छ । तर यस्तो खोजबिनको काम धेरैको प्राथमिकतामा नपर्ने तर कसैले मेहनतपूर्वक खोजेर ल्याएको वस्तुलाई विभिन्न ढंगले प्रयोग गर्नचाहिँ खोज्ने प्रवृत्ति रहेको उनी बताउँछन् । “बोटबिरुवा रोप्न, गोडमेल गर्न र मल हाल्न धेरै जना अघि नै सर्दैनन् । फल पाकेपछि भने सबैलाई त्यही मन पर्छ”, उनी भन्छन् ।

जे होस्, आफ्नो क्षेत्रबाट हुनसक्ने जति खोज गरेर कीर्तिपुर घरानाको विकास गर्ने र त्यसको पहिचानलाई अगाडि बढाउने सोच उनको छ । यसका लागि आफू र सङ्गीतमै लागेका छोरा प्रिन्सले पहल गरिरहेको पनि उहाँले बताउनुभयो । छोराले पुर्ख्यौली संगीत शैलीलाई आनीछोइङ डोल्मा र न्ह्यू बज्राचार्यसँगको सहकार्यबाट केही आध्यात्मिकपन दिँदै गएका छन् ।

त्यसो त सारंगीलाई ‘ए यो त गन्धर्व बाजा हो’ भन्ने र हरेक दिन त्यस्तै टिप्पणीबाट होच्याउने र निरुत्साहित गर्ने प्रवृत्ति छ । आफू काठमाडौँवासी हुँदासमेत त्यस्तो व्यवहार हुन्छ भने गाउँतिर त झन् कस्तो होला ? उनको प्रश्न छ । गन्धर्व गीत भनेर हेपिएपछि राम्रा धुनहरू भने चोरीसमेत हुने गरेको अनुभव उनको छ । “ए दाजु न समाऊ नारीमा…, भन्ने गीतको नक्कल गरियो, जसको सिर्जना हाम्रा पुर्खाले सारंगी रेटेरै गरेका थिए,” उनको भनाइ छ । सम्पदाका रूपमा रहेका मौलिक धुनलाई संरक्षण गर्नेभन्दा पनि पाएमा त्यसका व्यापारिक उद्देश्यका साथ प्रयोग गर्ने प्रवृत्ति हावी रहेको उनको निष्कर्ष छ ।

सारंगीलाई चिनाउन संसारका विभिन्न ठाउँ पुग्ने क्रममा हार्डवर्ड विश्वविद्यालयमा एक वर्ष बिताए श्याम नेपालीले । विश्वविद्यालय र त्यसअन्तर्गतका कलेजहरूमा नेपाली मौलिक बाजा, यसको धुनबारे फरक पृष्ठभूमिबाट आएका र नेपाल कहिल्यै नदेखेका लाई समेत सारंगीबारे बताउने अवसर पाए । आफ्नो त्यही अभियानमा छोराहरूको समेत साथ पाएका छन् ।

आफूले विकास गर्न र फैलाउन चाहेको कीर्तिपुर घराना भने सयौँ वर्ष अघिदेखि कीर्तिपुरमा बसेर पुर्खाले विकास गरेको धुनलाई सकेसम्म त्यसको मौलिकता बचाएरै आधुनिक युगसँग परिचित गराउने अभियान भएको भनाइ उनको छ । “पोखरा, प्युठान र भोजपुरजस्ता ठाउँमा बज्ने सारंगीभन्दा फरक छ, कीर्तिपुरको सारंगी वादन”, उनी थप्छन् । धुनमात्र नभई त्यसले बोक्ने शब्दसमेत अर्थपूर्ण र इतिहास बोक्ने खालका छन् । तिनलाई दोहोरीको भाकाजस्तो आफूले चाहेको शब्द हालेर गाउन नसकिने उनी बताउँछन् ।

प्रकृति र इतिहास, पोखरामा बज्ने सारंगीको धुनमा गाइने गीत र कीर्तिपुरमा आफ्ना बाबुबाजेले गाउने गरेको गीतमा मुख्य दुई भिन्नता पाउँछन् श्याम नेपाली । आफ्ना पुर्खाले सारंगी रेट्दै गाएको गीतमा तत्कालीन शासक र व्यवस्थाभित्रका कथाव्यथा बढी भेटिने र पोखरातिरका गीतमा भने प्रकृतिको वयान भेटिने पनि उनी बताउँछन् । गन्धर्वहरूलाई गाउनका लागि निश्चित स्थान तोकिदिने र त्यसवापत जग्गा जमिन दिने चलनसमेत कुनै बेला थियो । त्यतिबेला छोराबाट नाति, नातिबाट पनाति हुँदै पुस्तान्तरण हुँदा एउटा विशेष शैलीको सारंगी वादन सिर्जना भएको छ । त्यसैलाई कीर्तिपुर घरानाको नाम दिइएको पनि उनी बताउँछन् ।

उतिबेला घराना नभनिए पनि आफ्नो परिवारले बजाउँदै आएको सारंगी वादन थुपै लोकप्रिय गीतमा प्रयोग भएको जानकारी उनी दिन्छन् । उदाहरणका लागि श्यामले बजाएको कर्ण दासको ‘पुरानो डुङ्गा…पानीको छाल…”, बोलको गीतमा प्रयोग भएको सारंगीको धुन । आनीछोइङको फूलको आँखामा…फूलै संसारमा पनि सारंगी प्रयोग भएको छ । “त्यस्ता थुप्रै गीतमा कीर्तिपुर घरानाको धुन बजेको छ”, उनी भन्छन् । त्यतिमात्र नभई विभिन्न एफएमका जिंगल र एनसेलको धुनमा समेत कीर्तिपुर घरानाको सारंगी बजेको छ ।

आफूभन्दा अघि पिताले त्यतिबेलाको चर्चित लोकगीत ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास …’ बोलमा पनि कीर्तिपुर घराना बजेको छ । एउटा परिवारले पुस्तौँ संगीत अभ्यास गर्दा विकास भएको शैलीलाई घरानाको रूप दिएर नेपाली संस्कृतिमा एउटा आयाम थप्न खोजेको उनको भनाइ छ । यसलाई अगाडि बढाउन आफूले सकेसम्म प्रयास गर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com