पोखरा, २६ असोज । मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन । दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए ।
‘उहाँ निर्विरोध हुने पक्कापक्की जस्तै भयो । तर, हामी १ बजेपछि मात्रै औपचारिक रूपमा जानकारी गराउँछौँ,’ उनले भने ।दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’ का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा उम्मेदवारी रहेका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सहयोग गर्ने घोषणा बुधबार बिहान फेसबुकमार्फत गरेका थिए ।
राजीवले मनाङ प्रदेश ‘२’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताए । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउदै आएका छन् । उनले गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउादै आएका छन् ।एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’ का उम्मेदवार राजनबहादुर गुरुङले बताए । ‘हाम्रो पहलमा राजीव गुरुङ र दोर्जे लामा गुरुङबीच छलफल भयो । हामीले फिर्ता लिएर राजीवलाई निर्विरोध गर्न अनुरोध गर्यौं । दोर्जेले स्वीकार गर्नुभयो,’ उनले भने, ‘दोर्जेले फिर्ता लिनेबित्तिकै राजीव निर्विरोध हुनेभयो ।’ डेंगु संक्रमित मनाङे भने उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं गएका छन् ।








प्रतिक्रिया दिनुहोस्