काठमाडौं । सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् ।अर्का आरोपी राजु राउत भने फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।
‘बलात्कार आरोपपछि हामीले पाण्डेलाई पक्राउ गरेका हौं । अर्का आरोपी राजु राउत भने फरार छन् । उनको खोजी गरिरहेका छौं’, डीएसपी तिवारीले भने ।पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन्दै कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरी दर्ता भएपछि पाण्डे पक्राउ परेका थिए ।पाण्डे नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता हुन् । उनी गत असार २५ गते मनमैजुस्थित आफू सञ्चालक रहेको क्लब लोटसबाट पक्राउ परेको बुझिएको छ ।
फरार राउत भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी हुन् । कांग्रेस नेता पाण्डे पनि विभिन्न व्यवसायमा संलग्न छन् । चारजना मिलेर युवतीलाई पोखरा लगे पनि उनले दुईजनाविरुद्धमात्र जाहेरी दिएकी छन् । राउतमार्फत चिनेर आफू पोखरा गएको युवतीको बयानमा उल्लेख छ ।आरोपी राउत र पीडित युवतीबीच ७र८ महिना अघि टिकटक लाइभमार्फत चिनजान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । इटहरी घर भएकी ती युवतीलाई करिब दुई साताअघि काठमाडौं बोलाइएको थियो ।








प्रतिक्रिया दिनुहोस्