काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको बताएको छ । काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताउनुभयो । सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।
सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने उहाँले स्पष्ट पार्नुभयो । यसको निम्ति प्रशासन छलफलमा रहेको उहाँले जानकारी दिनुभयो । सवारी साधनको चापका कारण भीडभाड न्यूनिकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो । सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उहाँले उल्लेख गर्नुभयो ।
प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाई छ । आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भुमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्