बुटवल, २७ माघ ।
बेसहारा, अशक्त, असाहय, अभिभावकविहिन सहयोगापेक्षी सडकआश्रित नागरिकलाई आश्रय दिने उद्देश्यले भवन निर्माणार्थ संचालन भईरहेको महायज्ञमा आएर प्रदेश ५ सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले कुनै संघ संस्था वा ब्यक्तिले होईन अव मानव सेवा आश्रम प्रदेश सरकारले निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
भवन निर्माणको सहयोगार्थ बुटवलमा आज सम्पन्न भएको श्रीमदभागवत ज्ञानबिज्ञान महायज्ञको समापन समारोहमा बोल्दै मन्त्री बरालले प्रदेश नम्बर ५ स्तरिय मानव सेवा आश्रम भवन बनाउन प्रदेश ५ सरकारले बजेट दिने घोषणा गर्नुभयो ।
उहांले भवन निर्माणका लागि लाग्ने सबै खर्च प्रदेश सरकारले दिने घोषणा गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्षमै भवन बनाउन २५ लाख रुपैयाँ विनियोजन गरेको र भवन निर्माणमा लाग्ने सबै खर्च सरकारले दिने जानकारी दिनुभयो ।
मन्त्री बरालले प्रदेश ५ लाई सडक मानवमुक्त बनाउने सरकारको योजनामा मानव सेवा आश्रमसँग सहकार्य गर्ने बताउंदै ‘सरकारको योजना र मानव सेवा आश्रमको अभियान एउटै भएको बताउनु भयो ।
मानव सेवा आश्रमले बुटवलमा चार तले भवन बनाउने योजनाकासाथ सुरु गरेको महायज्ञ आज समापन गरिएको छ । अपाङ्गतामैत्री र लिफ्टसहितको कम्तीमा ५० कोठाको चार तले भवन बनाउन एघार करोड रुपैयाँ बजेट लाग्ने आश्रमले अनुमान गरेको छ । २० गतेबाट सञ्चालन भएको महायज्ञबाट करिब चार करोड रुपैयाँ संकलन भएको आयोजक मानव सेवा आश्रम रुपन्देहीले जनाएको छ । महायज्ञमा बुटवल उपमहानगरपालिकाले ३१ लाख, तिलोत्तमा नगरपालिकाबाट १५ लाख सहित रुपन्देहीका अन्य नगरपालिकाहरुले समेत रकम प्रदान गरेका थिए । महायज्ञबाट ३ करोड ६८ लाख रुपैयाँ संकलन भएको महायज्ञका संयोजक लोकनाथ भुसालले बताए । महायज्ञमा मानव सेवा आश्रमका सदभावना दुत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिती रहेको थियो ।
महायज्ञ समापनका अवसरमा प्रदेश सभा सांसद भोजप्रसाद श्रेष्ठ,बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गोमादेवी आचार्य,आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन लगायतले मानवीय सेवाका लागि आयोजित महायज्ञमा लक्ष्य अनुसार सफल भएको बताएका थिए । महायज्ञको आम्दानी खर्च अर्कोहप्ता सार्वजानीक गरिने आयोजकले बताएको छ ।








प्रतिक्रिया दिनुहोस्