
जनकपुरधाम, १९ भदौ । महोत्तरीको एक वडा अध्यक्षले साईकल वितरण कार्यक्रमको अध्यक्ष नबनाएको भन्दै प्रधानाध्यापकमाथि हाथपात गरेका छन् । बलबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विजय महतोले मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउ कार्यक्रमअन्तर्गत आज हुन लागेको साईकल वितरण कार्यक्रमको अध्यक्ष नबनाएको भन्दै प्रधानाध्यापक महेश झामाथि हाथपात गरेका हुन् ।
हामील आजको कार्यक्रमका लागि हिजो सम्बन्धित सबै जनासँग परामर्श गरेका थियौँ, त्यसमा कुरा उठ्यो कार्यक्रमको अध्यक्षता कसले गर्ने नियम अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अध्यक्षता गर्ने गर्छन् र यदि अध्यक्ष नभए प्रधानाध्यापकले अध्यक्षता गर्ने गर्छन्, अध्यक्ष नभएका कार्यक्रम मैले अध्यक्षता गर्नुपर्ने अवस्था आयो सबैले सहमति पनि जनाउनुभयो, तर हिजो राति वडाअध्यक्षज्यूले मलाई कार्यक्रमको अध्यक्ष नबनाए कार्यक्रम बिथोलिदिन्छु भनेर धम्की दिनुभयो प्रधानाध्यापक झाले भने ।

आफुहरु उहाँकै अध्यक्षताको बारेमा विद्यालय परिसरमा अन्य शिक्षकहरुसँग छलफल गरि नै रहेको बेला लगभग २०–२५ जनासहित विद्यालयमा आएका वडा अध्यक्ष महतोले अचानक मुख्यमन्त्रीको स्वागतका लागि राखिएको कुर्सीहरु तोड़फोड़ गर्न लागेको उनले बताए ।आफुले रोक्न खोज्दा अध्यक्षसहित उनीसँग आएकाहरु आफुमाथि जाई लागेको प्र।अ। झाले बताए ।यता प्रधानाध्यापकलाई हाथपात गरिरहेको देखेपछि उक्त विद्यालयका विद्यार्थीहरु वडाअध्यक्ष महतोलाई लखेटेपछि उनी भागेको र आफुहरुलाई घर निर प्रहरी मगाएर पिट्न लगाएको कक्षा १० मा अध्ययनरत विद्यार्थी धिरज यादवले बताए । प्रहरीको लाठी चार्जबाट धीरजको टाउको फुटेको छ भने अन्य चार जना विद्यार्थीलाई समेत चोट लागेको छ । घाईते सबै विद्यार्थीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
यता वडा अध्यक्ष महतोले आफुले प्रधानाध्यापकमाथि कुनै प्रकारको हाथपात नगरेको दाबी गरेका छन् । उनले भने ‘उल्टै प्रधानाध्यापक झाले विद्यार्थीहरुलाई आफुविरुद्ध उचालेर घर र कार्यालयमा तोडफोड गर्न लगाएका छन् ।’प्रदेश दुई सरकारले बेटी पढाउँ बेटी बचाउँ अभियान अन्तर्गत सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरुका सहजताका लागि प्रदेशभरि साईकल वितरण गर्ने अभियान नै चलाएको छ ।








प्रतिक्रिया दिनुहोस्