काठमाडौं, १३ भदौ । डिजेल, पेट्रोलजस्ता इन्धन बोक्ने ट्याङ्करमा लेखिएको हुन्छ, ‘अत्यधिक प्रज्ज्वलनशील ।’ अर्थात् यो एकदमै छिटो बल्न सक्छ । यस्ता इन्धनले चाँडै आगो समात्न सक्छ र आगोको नजिक परेमा चाँडै समात्न सक्छ ।
अत्यधिक प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भनेपछि यसको प्रयोग र भण्डारणमा पनि विशेष सुरक्षा अपनाउनु पर्ने नै हो ।
तर काठमाडौँ उपत्यकाका १ सय ३४ स्थानमा रहेका पेट्रोल पम्पले न्यूनतम सुरक्षा व्यवस्था नगर्दा यसले भविष्यमा गम्भीर खतराको घण्टी बजाइरहेको छ ।
उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्प जोखिममा रहेका छन् । अति प्रज्ज्वलनशील पदार्थ बिक्री–वितरण गर्ने स्थल मापदण्डअनुसार सञ्चालन नहुँदा यसले गम्भीर सुरक्षा खतरा बढाएको छ ।
‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली –२०७५’ अनुसार, पेट्रोलियम पदार्थ बिक्रेताको लागि उपत्यकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा ७ सय ५० वर्ग मिटर अर्थात् ८ आना जग्गा र सडकतर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । तर उपत्यकामा सञ्चालित १ सय ३४ वटै पेट्रोल पम्पलाई यो विनियमावलीले छुन सकेको छैन ।
समयको मागअनुरुप जथाभाबी निर्माण गरिएका पेट्रोल पम्पहरुलाई व्यवस्थित गर्न सरकारले नमुना पेट्रोलपम्पको अवधारणा ल्याएको छ । तर क्षेत्रफल अभाव लगायत विविध कारणवश यो अवधारणा कार्यन्वयन हुन सकेको छैन ।
अझ, काठमाडौंको सघनबस्ती भित्रै अवस्थित पम्पहरु त मानवबस्तीका लागि असुरक्षित छन् । पेट्रोल पम्पहरु सार्वजनिक सडक किनारामै रहेका कारण सडक विस्तार तथा पूर्वाधार निर्माणमा पनि अवरोध भैरहेको छ ।
मुलुकभर पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल बेच्ने करिब १४ सयको हाराहारीमा पम्पहरु छन् ।
पेट्रोलियम पदार्थ बिक्रीस्थलमा कार्यालय, बिक्री कक्ष, पिउने पानी, अपांगमैत्री शौचालयदेखि पूर्वाधार निर्माण र क्षेत्रफलको विषयमा मापदण्ड तय भएको छ । तर, उपत्यका भित्रका अधिकांश पेट्रोल पम्पहरुले नै यो मापदण्ड पालना गरेका छ्रैनन् ।
उपत्यकाभित्र मापदण्डअनुसार पेट्रोल पम्पहरुको व्यवस्थापन गरिएको छैन । बालाजुचोकबाट सोह्रखुट्टेतर्फ जांदा बाटैमा एउटा कोतःधुकु आयल स्टोर्स छ । यो स्टोर्स स्थापना भएको ४ वर्षपछि वि.सं. २०४७ सालमा सडक किनारबाट केही भित्र यसैको पल्लोपट्टि ‘फ्यूल डिस्पेन्सर’ राखेर चक्रपथ फ्यूल सेन्टर सञ्चालनमा आयो ।
‘कम्पाउन्ड’ विना नै सडक छेउमा सञ्चालित यो पम्प वरिपरि पसलहरू छन् भने सडक विस्तार समेत प्रभावित भएको छ । पहिला, जतासुकै पम्पहरु स्थापना भए । तर तिब्र शहरीकरणसंगै खुला क्षेत्र सकिंदै गयो । त्यसैले मापदण्ड बमोजिम पम्प व्यवस्थापन गर्न नसकिएको एक पेट्रोल पम्प व्यवसायीले बताउंछन् ।
कम्पाउण्ड, खुला क्षेत्रसहितको पेट्रोल पम्पहरुको व्यवस्थापन गर्न नसकिए पनि अहिले पम्पहरु डिजिटल भएका छन् । पहिले डिजिटल पेट्रोलपम्पहरु थिएन, त्यसैले वितरणमा केही समस्या थियो । अहिले डिजिटल पम्पभएसँगै हिसाबकिताब गर्न सजिलो छ ।
एकान्तकुना क्षेत्रमा अवस्थित गायत्रीदेवी आयल स्टोर्स पनि न्यूनतम मापदण्ड बिनै सञ्चालित छ । स्टोर्स छेउमा जीएस वर्कशप एन्ड अटो पार्टस्मा गाडी मर्मत, वेल्डिङ लगायत काम भइरहने भएकाले पम्पमा आगलागीको जोखिम उच्च छ । ललितपुरको लगनखेल बसपार्क पछाडि रहेको ‘मञ्जु श्री पेट्रोल सेन्टर’ असुरक्षाको अर्को उदाहरण हो । पम्पको बोर्ड केही पर सटरको भित्तामा टाँसिएको छ, तर पम्प बीच सडकमै छ ।
पम्पको अगाडि–पछाडि भएर आवतजावत गरिरहेका सवारी साधनलाई नै पम्पले पेट्रोल डिजलको कारोबार गरिरहेको छ । कुमारीपाटीको महायान पेट्रोल पम्प सडक किनारामै छ । महायानभन्दा केही अगाडि रहेको मच्छिन्द्र पम्प पनि सडकबाट धकेलिंदै किनाराका बस्तीमा जोडिन पुगेको छ । पम्प परिसरमा पसलहरु भएका कारण मानिस आवात्जावत् गरिरहन्छन् । बाटो विस्तार हुन नसक्दा ट्राफिक जाम लगायत दुर्घटना निम्तिरहेको छ । तसर्थ महानगरपालिकाले मापदण्ड विपरित निर्माण भएका पेट्रोल पम्पहरुको व्यवस्थापन गर्न ढिलाई गर्न नहुने बताउंछन् नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल ।
पुराना पेट्रोल पम्पहरु उही बेलाको समय सापेक्ष अनुसार निर्माण भएका थिए । जसरी पहिलेका सार्वजनिक साधनहरु अहिले सञ्चालनमै आएपनि त्यसमा सेवाग्राही चढ्न मान्दैनन्, अहिले सार्वजनिक यातायातका साधनहरु पनि विभिन्न सुविधासहितका छन् । पेट्रोल पम्प व्यवसायीहरुबीच पनि प्रतिस्पर्धाको भावना छ ।
सेवाग्राहीहरुले पनि मापदण्ड पुगेको पेट्रोल पम्पहरुमा मात्र सेवा लिने गरेमा पनि मापदण्ड विपरितका पम्पहरु आफै पछि हट्न बाध्य हुनुपथ्र्यो ।
राजधानी जस्तो घना बस्ती भएको ठाउँमा सम्भावित विपत्का बारेमा समयमै गम्भीर रूपमा सोचिनुपर्छ । पम्प आसपासको ठाउँ जोखिमयुक्त क्षेत्र हो । सुरक्षा विनै सञ्चालनमा रहेका पम्पहरू कुनै पनि बेला बारुदको गोलासरह विस्फोट हुनसक्छन् । तसर्थ, सम्बन्धित सबैजना यस विषयमा चनाखो हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्