बुटवल, ८ भाद्र ।
जडान गर्दै बिग्रंदै फेरी जडान गर्दै बिग्रंदै गरेको बुटवलमा सडकमा भुण्डीएका सिसि क्यामराको संख्या तेस्रो पटक फेरी थपिएको छ । प्रदेश सरकारको आन्तरिक मामला तथा कानुन मन्त्रालयको लगानीमा प्रदेश ५ को बिभिन्न शरहहरु सहित प्रदेश राजधानी बुटवलका प्रमुख चौकहरुमा तेस्रो पटक सिसि क्यामरा जडान भएकाछन् ।
सवारी दुर्घटनाको न्युनिकरण र सुरक्षा ब्यवस्थाको सहजताका लागि बुटवल उपमहानगरका बिभिन्न स्थानमा जडान भएका सिसि क्यामराले काम गर्न छाडेपछि तेस्रो पटक प्रदेश सरकारले पुनः क्यामराबाट सुरक्षा दिने प्रबन्ध मिलाएको छ । यस अघि बुटवल उद्योग बाणिज्यसंघको सहकार्य र बिदेशमा बस्दै आएका नेपालीहरुको सौजन्यमा प्रमुख चौकहरुमा सिसि क्यामरा जडान गरिएपनि आवश्यक मरमत सम्भार र क्यामराको सुरक्षा हुन नसक्दा लगाएको १, २ वर्षमा नै ती क्यामराहरु काम नलाग्ने बनेका थिए ।
सडक सुरक्षा र सवारी ब्यवस्थापनमा ट्राफिक प्रहरीको महत्वपुर्ण भुमिका रहेपनि पछिल्लो समय ट्राफिक प्रहरी सवारी ब्यवस्थापनमा भन्दा राजश्व असुलिमा सक्रिय भएको देखिएको छ । साबिक पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय र हाल प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलमा कन्ट्रोल रुम रहनेगरि सिसि क्यामरा जडान भएपनि ट्राफिक प्रहरी स्वयं क्यामराको सुरक्षा र आवश्यक मरमत सम्भारमा संबेदनशिल नबनिदिंदा ती क्यामराहरु बिग्रने र हराउने गरेकाछन् । २०७० साल मंसिर २८ गते प्रहरीलाई बुटवल उद्योग बाणिज्यसंघले तामझामका साथ सीसी क्यामराको मनिटर हस्तान्तरण गरेको थियो । सिसिटिभी कन्ट्रोलरुमको नेपाल प्रहरीका तत्कालीन डिआईजी सुरेन्द्रबहादुर शाहले उदघाटन गरेका थिए । तर अहिले ती सबै क्यामरा ध्वस्त भईसकेका छन् । यस अघि बिदेशमा बस्ने नेपाली युवाहरुले बुटवलका बिभिन्न स्थानमा जडान गरिएका सिसि क्यामेराको कन्ट्रोलरुम ट्राफिक प्रहरी कार्यालयमा राखिएको थियो । तर ती सबै क्यामराहरु पनि वर्ष दिन टिकेनन् । सोमबार पुनः प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले एक कार्यक्रमका बिच सिसि क्यामेराको कन्ट्रकोलरुम उदघाटन गरेका छन् ।
कन्ट्रोलरुम सहित क्यामेराको सुरक्षाको जिम्मा लिएका ट्राफिक प्रहरी स्वयं सिसि क्यामरा देखि भने भाग्ने गरेको छ । ट्राफिक प्रहरीको सवारी चेक जांच प्राय जङ्गलको छेउछाउ वा सिसि क्यामराको पहुंच नभएको स्थानमा हुने गरेकोबाट पनि ट्राफिकको क्यामेरा प्रतिको संबेदनशिलता झल्कने गर्दछ । सडकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीहरु जहां क्यामेराको कभरेज छैन त्यतै बस्न रुचाउने गरेको समेत दृष्यहरुबाट देख्न सकिन्छ । ट्राफिक प्रहरीको चेकजांच सवारी ब्यवस्थापनमा भन्दा राजश्व असुलिमा केन्द्रित हुने गरेको आरोप छ, पश्चिम नेपाल बस ब्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेलको ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि मुख्यमन्त्री शंकर पोखरेलले ट्राफिक प्रहरी क्यामराको कभरेज बाहिरमात्र परिचालिन हुने गरेको संकेत गरेका थिए । उनले सवारी चेकजांचलाई क्यामेराको कभरेज भित्र बसेर चेकजांच गर्न निर्देशन दिंदै क्यामेराको कभरेज बाहिरको सवारी चेकजांच अपारदर्शी हुने बताएका थिए ।
आधुनिक सुरक्षा प्रणाली जडान गरी प्रदेशको शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले प्रदेश–५ सरकारले रोल्पा बाहेकका ११ जिल्लामा १ सय ५ ओटा सिसिटीभी क्यामेरा जडान निगरानी सुरु गरेको छ । प्रदेश सरकारले रुपन्देहीमा १८, प्यूठानमा ९, अर्घाखांचीमा ७, गुल्मीमा ८, पाल्पामा १६ , नवलपरासी पश्चिममा १८, कपिलवस्तुमा १४, बांकेमा १५ र प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा ८ वटा सीसीटीभी जडान भएका छन् ।
यातायात ब्यवसायी खरेल र मुख्यमन्त्री पोखरेलले ट्राफिक जांच सिसि क्यामेराको कभरेज भित्र हुनुपर्ने बताईरहंदा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मधुसुदन लुंईटेलले भने ट्राफिक प्रहरी राजश्व असुलि भन्दा सवारी ब्यवस्थापनमा नै क्रियाशिल रहेको दाबी गर्छन् ।
सडकको कुनामा वा सिसि क्यामराको कभरेज बाहिर बसेर सवारी चेक जांच गर्न छाडेर ट्राफिक प्रहरीले आफुलाई पारदर्शी बनाउन सके मात्र ट्राफिक प्रहरी जनतामा अझै लोकप्रिय बन्न सक्ने छ र जडान भएका सिसि क्यामेराको पनि सुरक्षा हुने छ ।







प्रतिक्रिया दिनुहोस्