काठमाडौं,६ भदौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस संसदीय व्यवस्थामा अडिग रहेको बताउनुभएको छ । जनअधिकार अभियान नेपालद्वारा आज यहाँ आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानव अधिकार विषयक अन्तक्र्रियामा उहाँले काङ्ग्रेस नेतत्वका सरकारले विगतमा ल्याएको उदार अर्थतन्त्रकै कारण मुलुकमा आर्थिक क्रियाकलाप बढेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्नुपर्ने र संविधानमा रहेका त्रुटीलाई सच्याउँदै लैजानुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीका नेता डिसी नेपालले सरकारले जनताको हितमा काम गरी मानव अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द पौडेलले मानव अधिकारबिना लोकतन्त्रको शोभा नबढ्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कम्युनिष्ट नेता रामरिझन यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तम तिमल्सिना, अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, लेखक एवं विश्लेषक नरेन्द्र जम्मकट्टेललगायतले सरकारले नेपाली जनताको चाहना र आकांक्षाअनुसार काम गर्नुपर्ने सुझाव दिनुभयो । सो अवसरमा अभियानका अध्यक्ष एकराज भण्डारीले कार्यपत्र पस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्