काठमाडौं,४ भदौ । काठमाडौंमा आज र भोलि हुने नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन उनी नेपाल आईपुग्नु भएको हो ।
त्रिभुवन विमानस्थलमा उनलाई परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वागत गर्नुभएको छ ।
आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नुहुनेछ । बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सन् १९८७ मा स्थापना भएको उक्त आयोगको बैठक आलोपालो गरी नेपाल र भारतमा हुने गर्छ। अघिल्लो बैठक सन् २०१६ मा भारतमा भएको थियो।
विदेशमन्त्री जयशंकरले आजै २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुनेछ भने भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेश मन्त्री नियुक्त हुनुभएका जयशंकरको मन्त्रीका हैसियतमा यो पहिलो नेपाल भ्रमण हो। यसअघि उहाँ सन् २०१५ मा नेपालको संविधान जारी हुनुअघि मोदीको दूत बनेर काठमाडौं आउनुभएको थियो । त्यतिबेला नेपालका दलहरूलाई संविधान जारी प्रक्रिया केही दिन रोक्न दबाब दिनुभएको थियो । नेपालले भारतीय दबाबका बाबजुद २०७२ असोज ३ गते संविधान जारी गरेको थियो।
संविधानमा असन्तुष्टि जनाउँदै लगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो।
प्रतिक्रिया दिनुहोस्