काठमाडौं, २८ साउन । प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता समाजवादी पार्टी नेपालले आग्रह गरेको छ ।
सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका यादवले सभामुख कृष्णबहादुर महरा समक्ष राजीनामाको निवेदन दिनुभएको थियो । सांसद यादवको राजीनामा सभामुखसमक्ष आएको तर स्वीकृत भई नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो । यादवको राजीनामाका बारेमा सभामुख महराले समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियासंग समेत छलफल गर्नुभएको छ ।
समाजवादी पार्टीका प्रमुख सचेतक अरगरियाले राजीनामा फिर्ता लिनका लागि डा.यादवलाई आग्रह गरिएको बताउनुभयो । उहाले राजीनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजीनामा फिर्ता हुने सम्भावना रहेको बताउनुभयो । मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिए पनि पार्टीले फिर्ता नलिन आग्रह गरिरहेको अरगरियाले बताउनुभयो । उहाले एकपटक चिकित्सकको रिपोर्ट हेरेपछि पार्टीले थप निर्णय गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्