बुटवल, २३ साउन ।
संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले डिसेम्बर ३० सम्ममा गौतमबुद्ध अन्तरराष्ट्रिय बिमान स्थल बिमान अवतरण गर्न उपयुक्त भई सक्ने दाबी गर्नुभएको छ ।
प्रेस संगठन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले गौतमबुद्ध बिमान स्थल आफ्नो र प्रधानमन्त्री ओलीको पनि सपना भएकाले बिमानस्थल निर्माणको काम कुनै पनि बहानामा नरोकिने बताउनु भयो ।
उहांले बिमानस्थलको काम नरोकिने गरि निर्माण सामाग्रीहरु उपलब्ध गराईदिन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले कामको पहिलो बिन्दु गौतमबुद्ध बिमानस्थलबाट सुरु गर्न आफुलाई निर्देशन दिनुभएको स्मरण गर्नुभयो ।
पार्टीले निर्वाचनका बेला गरेको बाचा कबुल र घोषणापत्रमा उल्लेख भएका सबै कुरा आगामी ३ वर्षमा पुरा गर्ने गरि सरकार लागेको बताउंदै मन्त्री भट्टराईले आगामी वर्ष बजेट कार्यान्वयनको बर्ष हुने स्पष्ट पार्नुभयो ।
पार्टी स्थायी समिती सदस्य समेत रहनुभएका मन्त्री भट्टराईले पत्रकारलाई गलत कुरा बताउंदा पार्टीको भोट नघट्ने तर जनतालाई गलत कुरा बताए भोट घट्ने प्रति आफु सचेत रहेको बताउंदै पार्टी र सरकार आफ्ना कमजोरीहरुलाई सच्याउंदै अगाडी बढ्न तयार रहेको बताउनु भयो ।

सरकारले अगाडी सारेको भ्रमण बर्ष २०२०लाई सफल बनाउन बिशेष कार्यक्रम तयार भईरहेको बताउंदै उहांले बिदेशमा रहेका ५० लाख नेपालीले प्रत्यकले १ जना बिदेशी नेपाल पठाउन सके सरकारको २० लाख पर्यटक भित्राउने लक्ष्य सजिलै पुग्ने बताउनुभयो । बिदेशमा बस्ने र फेसबुकबाट नेपाल खत्तम भयो भन्दै देशको बेईज्जत गर्न छाड्नु पर्ने उहांको भनाई थियो ।
भैरहवा बिमानस्थलको ईयर रुटका बिषयमा भारतसंग सहमती भईसकेपनि नेपालगन्ज रुटमा सहमती हुन नसकेको जानकारी दिंदै मन्त्री भट्टराईले भैरहवा बिमान स्थल सफल बनाउन नेपालगन्ज बिमान स्थल महत्वपुर्ण हुने बताउनु भयो ।
मन्त्री भट्टराईले आजै लुम्बिनी सर्किट अन्तर्गत रामग्राम, तिलौराकोट, देवदह लगायतका स्थानहरुको अवलोकन गर्नुभएको थियो । साउन १५ गते पर्यटन मन्त्रीको जिम्मेवारी पाउनुभएका भट्टराईको मन्त्री भईसकेपछि काठमाण्डौ बाहीरको पहिलो भ्रमण हो ।







प्रतिक्रिया दिनुहोस्