काठमाडौं, १९ साउन । काठमाडौंको महत्व बोकेको सहर असनमा रहेको ‘घडी घर’ भनेर चिनिने ऐतिहासिक ‘अशोक वृक्ष बिहार’ लाई मासेर सपिङ कम्प्लेक्स बनाउन लागिएपछि यसको विरोधमा स्थानीय तथा सम्पदाप्रेमीहरु आन्दोलित भएका छन् ।
पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण गरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरु मास्दै व्यापारिक भवनहरु बनाउने क्रम बढेको छ । राज्यको विभिन्न निकायमा रहेका व्यक्तिहरुको संलग्नता र आड भरोसामा भूमाफियाहरुले सरकारी जग्गा आफ्नो नाममा पार्दै अतिक्रमण गर्ने गरेका छन् । यसको पछिल्लो उदाहरणको रुपमा काठमाडौंको व्यस्त सहर असनमा रहेको ‘घडी घर’ बनेको छ ।
८ आना ३ दाम क्षेत्रफलमा फैलिएको छ यो घडी घरमा ‘घडीघर’ ‘श्री ५ को वायु देवता गुठी’ र अशोक वृक्ष विहार नाम राखिएका ३ घरहरु छन् । अहिले ‘घडी घर’ भनेर चिनिने उक्त असन बजारको ऐतिहासिक ‘अशोक वृक्ष बिहार’ लाई मासेर सपिङ कम्प्लेक्स बनाउन लागिएको हो । यो घडीघरसँग यहाँका नेवारी समुदायको सांस्कृतिक र ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । परापुर्वक कालदेखि रहि आएको यस भवन भत्काएर अन्य प्रयोजनका निम्ति भवन बनाउनुलाई सांस्कृतिक आक्रमणको रुपमा लिएका छन् । ‘घडी घर’ मा १४ परिवार बस्दै आएका छन् । घरमा १६ औँ शताव्दीमा बनेको अशोक वृक्ष विहारको लिच्छवीकालीन अमिताभ बुद्धको मूर्ति छ । उक्त मुर्ति ५०० वर्ष पुरानो भएको पुरातत्व विभागले पुष्टि गरेको छ । उक्त घरलाई भत्काउन लागिएकोमा बिहिबार स्थानीय तथा सरोकारवालाले विरोध जनाएका हुन । जोगाउनुपर्ने सम्पदालाई सरकारले भत्काउन लागेको भन्दै सरोकारवालाले यसको संरक्षण गर्न सरकारसँग माग गरेका छन् ।
गुठी संस्थानको मातहतमा रहेको उक्त जग्गा गुठी संस्थानले व्यापारिक रुपमा भाडामा लगाएको छ । भाडामा लगाएर सम्पदा नमास्न र बिहारलाई बिहारकै रुपमा कायम गर्नुपर्ने जनप्रतिनिधि बताउँछन् ।
सम्पदा संरक्षणमा सरकार जिम्मेवार नभएको सरोकारवालाको आरोप छ । सरकारले सार्वजनिक गुठीका जग्गा नीजि नाममा दर्ता गरेर बेचविखन गरी सम्पदा हडप्ने काम रोक्नुपर्ने माग छ । सम्पदा संरक्षण अभियन्ता भागवत नरसिंह प्रधान सम्पदा संरक्षण गर्न बनेका विभिन्न ऐन, नियम सरकारले अक्षरंश पालना गर्नुपर्ने बताउछन ।
प्रतिनिधी सभा सदस्य भिमसेन दास प्रधान नेपालको सुन्दरताको पक्ष भनेकै काठमाडौं उपत्यकाको सांस्कृतिक महत्व बोकेका सम्पदाहरु मास्न नहुने र यसको विनासमा कोहि लागे आन्दोलन चर्किने उनको भनाइ छ ।
युगौ देखिको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका यस्ता सम्पदाको संरक्षण र सम्बद्र्धन गरिनुपर्छ । यसको विनासतिर होइन विकास तर्फ लाग्न चाहिँ सम्बन्धित निकायले ध्यान दिन सके राम्रो काठमाडौ हाम्रो काठमाडौ बन्नसक्छ ।
प्रतिक्रिया दिनुहोस्