काठमाडौ,१० साउन । नेकपाले एकता प्रक्रियालाई पूर्णता दिनेभने पनि स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषयमा सहमती नहुँदा काम अघि बढ्न सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन महिना भित्रै एकताका बाँकी काम सम्पन्न गरीसक्ने बताएका छन् । स्कुल विभागमा विवाद नगरी एकता प्रक्रिया छिटो सक्न नेताहरुले नेतृत्वलाई सुझाएका छन् ।
तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) को एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेको चौध महिनापछि नेताहरु पार्टी एकिकरण प्रक्रिया टुङ्ग्याउन तिव्र रुपले अघि बढेका छन् ।
द्यपी, एकता प्रक्रियाका केही विषयमा दोस्रो तेस्रो तहका नेताहरु मा अझै पनि विमति रहेको छ । शिर्ष नेताहरुको भनाई पत्याउने हो भने अबको केही दिनमा नेकपाले पार्टी एकताको सबै काम पुरा गर्नेछ । पछिल्लो समय पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकिकरणका बाँकी काम टुंग्याउन सचिवालय सदस्यका साथमा अनौपचारिक रुपमा घनिभुत छलफलमा जुटेका छन् ।
जिल्ला इन्चार्ज र सह इन्चार्ज, केन्द्रीय विभाग, मोर्चा फाँट, प्रवास, केन्द्रीय सम्पर्क समन्वय कमिटी र विभिन्न प्रतिष्ठानहरूमा साबिक एमाले र माओवादी केन्द्रले ६० र ४० को अनुपात अनुुसार बाँडफाँड भइसकेको छ । साउन ५ गते बसेको सचिवालय बैठकले ७७ जिल्लाको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी टुंगो लगाइसक्यो । साथै जिल्ला कमिटीकै मान्यता पाएको ६ वटा महानगरपालिकोको पनि इन्चार्ज र सह– इन्चार्ज पाएको छ । नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम साउन महिनाभित्रै सम्पन्न गरी भदौदेखि केन्द्रीय नेताहरुलाई गाउँ गाउँमा पठाउने तयारी रहेको बताएका छन् ।
३२ वटा केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादी समूहले १४ विभाग लिने समझदारी गरिसकेका छन् । कसलाई कुन विभाग दिने भन्ने अनौपचारिक रुपमा करिब करिब टुंगो लागिसकेको छ । तर अझै पनि स्कुल विभाग कसले लिने भन्ने विषय चाहिँ पेचिलो बनेको छ । साउन ७ गते सचिवालय बैठक बोलाइएको थियो । सहमती जुट्न नसकेपछि ९ गतेको लागि सारियो । ९ गतेपनि बैठक बस्न नसकेपछि अनिश्चित कालको निम्ति बैठक सरेको छ । पूर्व एमालेले आफुहरुको भागमा परेको दाबी गरेपनि पूर्व माओवादी समुहले स्कुल विभाग आफुले पाउनुपर्ने बताइरहेको छ ।
पूर्व एमालेबाट इश्वर पोखरेलले दाबी गरेका छन् भने पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दाबी गरेका छन् । दुवै पक्षको आ–आफ्नो दाबीले सहमति जुट्न नसकेपछि पछिल्लो समय घनश्याम भुषाल, बेदुराम भुषालले समेत आफुलाई जिम्मेवारी दिन माग गरेका छन् । कुनै समय नेताहरुलाई थन्काउने विभाग जस्तै बनेको स्कुल विभाग पार्टी एकतापछि सबैभन्दा पेचिलो बनेको छ । यद्यपी, अध्यक्ष प्रचण्डले नेता झलनाथ खनाललाई स्कुल विभागको जिम्मा लिन आग्रह गरेको समाचार आइरहेका छन् । यो विषय टुंगो लागेपछि एकता प्रक्रियाका बाँकी काम सहजै सम्पन्न हुने देखिएको छ ।
पार्टी एकता बलियो सैद्धान्तिक जगमा भएकोले आगामी दिनमा पार्टी अझ मजबुद हुँदै जाने नेकपाका करिष्ठ नेता माधवकुमार नेपालको भनाइ छ । नेकपामा केही साता अघि नेताहरु सार्वजनिक रुपमै वैचारिक बहसमा समेत उत्रिएका थिए । नेकपाको वैचारिक लाइन स्पष्ट नभएको र दुवै पक्षले आ–आफु अनुकुल तर्क गरिरहेकाझैं देखिन्थ्यो । तथापी अहिले बहस वैचारिक रुपमा देखिएको छैन । पार्टीको वैचारिक, सैद्धान्तिक लाइन स्पष्ट गरेर राजनीतिक प्रतिवेदन प्रकाशित भइसकेकोले अब त्यसको समस्या समाधान भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउंछन । नेताहरुले स्कुल विभागको जिम्मेवारी सैद्धान्तिक वैचारिक ज्ञान भएको कुनै एक नेतालाई दिई बाँकी काम छिटो टुंग्याउन नेतृत्वलाई सुझाएका छन् ।
स्कुल विभागमा विवाद गरेर नेकपाले हात्ति छिरयो पुच्छर अड्कियो भन्ने उखानको चरितार्थ गर्नु हुँदैन । छिट्टै सहमती गरि एकता प्रक्रियालाई पूर्णता दिन सके मात्रै नेकपाका समर्थकहरुमा उत्साह भरिने छ ।
प्रतिक्रिया दिनुहोस्