सप्तरी , २७ असार । लगातारको वर्षाले सप्तरी जिल्लाको अधिकांश क्षेत्र जलमग्न सँगै जनजिवन प्रभावित बनेको छ ।
गत शनिबारदेखि मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहदा सप्तरी समेत प्रभावित भएको हो । दुई दिनदेखीको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसंगै सर्वसाधारणलाई सचेत बनाउन रातो बत्ति बालिएको छ । पानीको वहाव बढेसँगै कोशी व्यारेजका ५६ ढोकामध्ये अहिले २३ वटा ढोका खुल्ला राखिएको छ । आज सांझ ६ बजेसम्म सप्तकोशी नदीमा पानीको वहाव १ लाख ७२ हजार ६ सय २५ क्वीसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो झण्डा र रातो बत्ति बाल्ने गरिन्छ ।
पानीको बहाव बढ्दै गएपछि स्थानिय प्रशासनले नदी किनार आसपासका स्थानियहरुलाई सतर्क रहन आग्रह गरेको छ । निरन्तरको वर्षालाई मध्ये नजर गर्दै स्थानिय प्रशासन राहत र उद्दारका लागि तैयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।
यसैबीच वर्षाले जिल्ला प्रहरी कार्यालय सप्तरी, राजबिराजको गजेन्द्र चौक, हटिया, मालपोत कार्यालय जलमग्न भएको छ भने राजबिराज नगरपालिका, बालमन्दिर, अदालत लाईन, राजदेबी मन्दिर, भगवती मन्दिर, थानगाछी, तेतरी गाछी, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलाशयमा परिणत भएको छ । पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।
प्रतिक्रिया दिनुहोस्