काठमाडौँ, २८ जेठ । सातौं राष्ट्रिय कृषक दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । देशकै मुख्य बाली धान लगाउने मौसम चलिरहेको बेला बजारमा भने मल अभाव भईरहेको किसानले गुनासो गरिरहेका छन् । मल र पर्याप्त पानीको अभाव हुदां कतिपय ठाउका उब्जाउ भूमी समेत बांझो छ । आवश्यक श्रोत, साधनको कमीका कारण कृषि क्षेत्रको समस्या समाधानमा समस्या आइरहेको कृषि विभागले जनाएको छ ।
नेपाल कृषिप्रधान देश हो । यहाँका ६५ प्रतिशत भन्दा बढी मानिस कृषिमा आधारित जीवन बिताउछन् । जेठ असारताका विशेषगरी धानबाली लगाईन्छ । तर, आजकाल बीउ, मल र जल यी आधारभुत आवश्यकताको अभावका कारण कतिपय ठाउँमा भने वर्षा लागिसक्दा पनि धानको बीउ राख्ने सुरसार समेत छैन ।
असन्तुलित मौसमका कारण कहिले सुख्खा त कहिले अचानक ठूलो पानी पर्छ । मौसममा सन्तुलन नहुदा पनि कृषक मारमा परिरहेका छन् । मौसमअनुसारको खेतीबाली लाउने प्रचलनमा समेत नकरात्मक असर पुगिरहेको छ । राजधानी लगायत कतिपय ठाउँमा भने पानीको अभावका कारण खेतीपाती हुन सकेको छैन । उब्जाउ भुमि समेत बाँझो रहेको अवस्था छ ।
खेतीपातीको लागि मलको अभावको समस्या पनि प्रमुख रुपमा देखिदै आएको छ । मौसमी बालीनालीका लागि उपयुक्त मौसम नहुने र जमिन, पानीको कमी हुने गरेका कारण कृषक बेमौसमी उत्पादनमा आकर्षित हुने गरेका छन् ।
हुन त, सरकारले कृषिप्रधान देशमा कृषि क्षेत्रलाई थप व्यवस्थित र सुधारात्मक बनाउन विभिन्न कार्यक्रमहरु पनि ल्याउने गरेको छ । कृषिमैत्री सहकारी, बैंक र संघ, संस्थाहरु पनि नखुलिएका हैनन् । प्रधानमन्त्रीस्तरको नै कृषि आधुनिकीकरण आयोजना संचालन भएको पनि अढाई वर्ष बितिसकेको छ । तर यी यस्ता सेवा, सुविधा र कार्यक्रमहरु भने वास्तविक कृषकसम्म पुग्न सकेका छैनन् । कागज मिलाउन सक्नेले सरकारी अनुदान प्राप्त गर्छन् । खेतमा काम गर्ने वास्तविक किसानले सरकारबाट कुनै सहयोग प्राप्त गर्न सक्दैनन् ।
वास्तविक कृषकको जीवनस्तर उकास्न र कृषि क्षेत्र विकास गर्ने उद्देश्यमा मात्रै कार्यक्रमहरु केन्द्रि गरिनुपर्ने कृषक माग गर्छन् ।
खेतबारीमा प्रयोग गर्ने मल पनि छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने हुँदा बेला बेलामा मलको अभाव हुने गरेको कृषि विभागका उप महानिर्देशक, रेवती रमण पौडेल बताउछन् ।
यो दृष्टान्तकै बीच व्यवसायिक र वैज्ञानिक कृषिप्रणाली अपनाउनुपर्ने कृषि विभाग बताउंछ । कृषि क्षेत्रलाई थप सुधार गर्न राज्यबाट पनि श्रोत, साधनलाई थप बढाउनुपर्ने विभाग बताउंछ ।परम्परागत कृषिप्रणालीमा युवा आकर्षित छैनन् । अझै पनि, कृषि पेशा भनेको अनपढहरुले धुलो, माटो हिलोमा बढी श्रम गर्नुपर्ने काम हो भन्ने धारणा कायमै रहेकाले न्युन पारिश्रमिकमा विदेश पलायन हुन्छन् । तर, युवाले आफ्नो खेतबारीमा काम गर्नै रुचाउंदैनन् ।
सरकारले युवा पलायन रोक्दै कृषि नै राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार हो भन्ने सन्देश अझै पनि पुर्याउन सकेको छैन । कृषि क्षेत्रलाई थप व्यवस्थित, आधुनिक र सुधारात्मक बनाउन बेला बेलामा विभिन्न नाराका साथ कार्यक्रम भएपनि आम कृषकको दैनिकी उस्तै छ । राजधानी आसपासका किसानले त राज्यबाटै उपलब्ध गराईएको सेवा, सुविधा पाएका छैनन् भने, दुरदराजका पहुँचबिहिन कृषकहरुको पालो कहिले आउला ?
प्रतिक्रिया दिनुहोस्