
अछाम, २६ जेठ । अछाममा उपचार नपाउदा एक नवजात शिशुको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ७ सेराका नन्दकला भाटको नवजात शिशुको स्वास्थ्य चौकी ढाँकुमा ज्यान गएको हो ।
सुत्केरी ब्यथा लागेकी ३२ बर्षीया नन्दकला आईतबार बिहान ९ बजे स्वास्थ्य चौकीको प्रसुती केन्द्रमा पुग्नुभएको थियो । २४ सै घण्टा प्रसुती सेवा उपलब्ध सूचिकृत संस्थामा २ जना अनमी भएपनि एक जना तालिम गर्न कमलबजार अस्पताल तथा एक जना घरमा गएकाले नन्दकलाले उपचार पाउन नसकेको नन्दकलाका श्रीमान प्रेम प्रसाद भाटले बताउनु भयो । सुत्केरी पीडामा रहेकी नन्दकलाले मृत शिशुलाई जन्म दिनुभएको हो ।
“घरमा रहेकी अनमी लक्ष्मी विष्टलाई फोन गरी आईदिन अनुरोध गरेका थियौँ” प्रेम प्रसादले भने – “अनमीले अहिले आफु खाना पकाउन लागेको र बर्थिङ सेन्टरमा आउन नसक्ने बताईन्, मेरो छोरोको ज्यान गयो र श्रीमतिको स्वास्थ्यमा थप जटिलता आयो ।” भाट दम्पतीका यसअघि २ छोरी रहेका छन् । बच्चा पेटमा उल्टो रहेकाले समेत समस्या भएको आफन्तले जनाएका छन् । हाल स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहत रहेकाले कर्मचारी व्यवस्थापनको काम पनि स्थानीय तहले नै गर्ने स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपट ढुंगानाले बताउनु भयो । कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले कर्मचारीको व्यवस्था भएको र ढिलो पु¥याएका कारण बच्चाको ज्यान गएको बताउनु भयो ।
घटना भएको खबर पछि ईलाका प्रहरी कार्यालय कमलबजारबाट घटनाबारे जानकारी लिन प्रहरी टोलि पुगेको छ । जिल्लाका कतिपय स्वास्थ्य संस्थामा अनमी एवं कर्मचारी भएपनि व्यवस्थापन हुन नसक्दा स्थानीय सेवाबाट बञ्चित हुने तथा ज्यानै जाने समस्या भोग्न बाध्य छन् । यसतर्फ स्थानीय तह एवं स्वास्थ्य शाखा संवेदनशील हुनुपर्ने सरोकारवालाको माग रहेको छ ।








प्रतिक्रिया दिनुहोस्