
काठमाडौं,२९ बैशाख । सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता पनि रोका गरिएको खुलासा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको १ लाख आर्थिक सहायता पनि रोका गर्नु परेको प्रष्टयाउनु भएको हो । बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरिएको पनि सचिव चौंधरीले स्पष्ट पार्नु भयो ।
आईतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा बोल्दै उहाँले आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिनु भयो । सचिव चौंधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि जानकारी दिनु भयो ।
आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धि नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरिएको सो कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइनेछ ।
कार्यक्रममा बोल्दै तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
आँखाको सो रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धि नेपाली चिकित्सक समाजलाई सो रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाईन सेवामार्फत् पनि सर्वसाधारणले हेर्ने व्यवस्था गर्न पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो । यो रोग ५ वर्षमुनिका बालबालिकामा देखा पर्ने गर्दछ ।








प्रतिक्रिया दिनुहोस्