माटोको भाडा बनाउने परम्परागत पेशा लोप हुने खतरामा,पेशा गर्नेको संख्या घट्दै

सपना थामी



काठमाडौं,२८ बैशाख । नेवार समुदायको परम्परागत पेशामध्ये माटोको भांडा बनाउनु पनि एक हो । भक्तपुरको प्रसिद्ध जुःजुः धौ माटोकै भांडामा राखिन्छ । तर, पछिल्लो दिनमा यो भांडा बनाउने पेशा गर्नेको संख्या घट्दै गएको छ ।

विशेष गरी गर्मीयाममा दही र पानी चिसो बनाई राख्नको लागि गाग्री र पालाहरुको लागि पनि भक्तपुर प्रख्यात छ । भक्तपुरमा बनेका माटाका भांडा सबैतिर प्रसिद्ध रहेका छन् । भक्तपुरको दुवाफलचा, चपाचो, नासनानी, कुम्हानानी, दिगुटोल, वाचुनानी, पाचो लगायत विभिन्न स्थानहरुमा माटोको भाडा बनाउने परम्परागत पेशा रही आएको छ ।

यहाँका बासिन्दा पहिले पहिले माटोको भांडा बनाउने पेशामै थिए । तर अहिले फाट्ट–फुट्ट रुपमा मात्रै भेटिन्छन् । धेरैजसोले पेशा परिवर्तन गरे । कोही कोहीले मात्र पुख्र्यौली पेशालाई निरन्तरता दिएका छन् । जो पेशामा अडिएका छन्, उनीहरुको पनि महिनामा यति नै आम्दानी हुन्छ भन्न सक्ने अवस्था छैन । त्यसैले, आवश्यक पर्दा मात्रै माटोको भांडा बनाउने गरेको बताउंछन्, भक्तपुर दुवाफलचाका पैसठ्ठी वर्षीय कृष्णबहादुर प्रजापती । बाउ, बाजेको पालादेखि नै माटोको भाडा बनाउदै आएका प्रजापतीले बाह्र, तेह्र वर्षको उमेरदेखि यही पेशाबाट जिविकोपार्जन गरिरहेका छन् ।
काम गर्न सक्नेले दिनमा सय ओटासम्म हाँडी, गाग्री, घ्याम्पो र गमला जस्ता सामाग्री बनाउन सक्छन् । वृद्ध उमेरका व्यक्तिले भने, लगभग पचास ओटासम्म मात्रै बनाउन सक्छन् । एउटा भांडा दुई सय देखि तीन सयसम्म बजारमा बेच्ने र बजारका व्यापारीले तीन सय देखि चारसयसम्म बेच्ने गर्छन् । गर्मी बढेसँगै माटोको गाग्रीको माग बढ्दा अहिले कृष्णबहादुरको काम पनि बढ्दो छ ।

बाउ, बाजेले माटोको भांडा बनाउने पेशा गरे पनि आफुले भने एकचोटी पनि माटो नछोएको बताउंछन् स्थानीय युवा विकास प्रजापति । प्रजापतिका बुवाले समेत यो पेशा छोडिसकेका छन् । राजधानीको विशेषगरी भक्तपुर क्षेत्रमा बनाईने यी यस्ता माटोका भाडा बनाउने परम्परागत पेशा लोप हुने अवस्थामा छ । यस पेशालाई संरक्षण गर्ने विषयमा कसैले पनि गम्भिरताका साथ लिएको देखिएको छैन । अहिले प्लाष्टिक र तामाको भाडाहरु बढी प्रयोगमा भएकोले माटोको भाडोको बजार नरहेको र भविष्यमा यो पेशा पूर्ण रुपमै लोप हुने अवस्थामा पुगेका उनी बताउंछन् ।

५० वर्ष नाघेका अर्का एक व्यक्ति पनि पहिलेदेखि नै अन्य पेशामा छन् । अहिले माटोको भाडा प्रति आकर्षण घटेको र युवा तथा महिलाहरु सेरामिकको भाडा तथा सामाग्री उत्पादन तथा बिक्रिवितरणमा लागिरहेको उनी बताउंछन् । विशेषगरी गर्मीयाममा चिसो पानी र दही राख्न माटोको भाडो निर्माण, प्रयोग तथा व्यवसाय गर्दै आएकाहरुले पनि भावी दिनमा यो परम्परागत पेशालाई संरक्षण तथा सम्वद्र्धन गर्नमा त्यति ध्यान दिन सकेका छैनन ।

यो पेशामा पहिलेदेखि नै लगभग पुरुषले मात्र काम गर्थे । अहिले त पेशा नै लोप हुने खतरामा छ । वर्तमान समयमा यस पेशाप्रति युवाहरु आकर्षित छैनन भने, वृद्धहरु सकुन्जेल मात्रै यस पेशालाई निरन्तरता दिन सक्छन् । तसर्थ, भक्तपुरको यो परम्परागत पेशा संरक्षणका लागि सम्बन्धित पक्षले समयमै ध्यान नदिने हो भने यौटा संस्कृतिको अवसान हुने देखिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All