
बेइजिङ, १६ वैशाख । राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राष्ट्रपति सी जिङपिङबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दुई राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता भएको हो । केहीबेर अघिसम्पन्न दुई राष्ट्रपतिबीचको भेटवार्ता पछि दुवै मुलुकका प्रतिनिधिमण्डल सहभागी छलफल भएको थियो । छलफलपछि दुवै राष्ट्रपतिको उपस्थितिमा व्यापार तथा पारवहन प्रोटोकलसहित चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायात मन्त्रीले हस्ताक्षर गर्नुभएको छ । सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा हस्ताक्षर भएको हो । प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुच उत्तरतर्फको समुद्रसम्म हुनेछ । यसले दुईपक्षीय सम्बन्ध नया उचाइमा पुग्ने विश्वास चीनको छ भने नेपाल एकपक्षीय निर्भरताबाट मुक्त हुनेछ । शिष्टाचार वार्ता हुनुअघि राष्ट्रपति भण्डारीलाई चिनिया जनमुक्ति सेनाले गार्ड अफ अनर दिएको थियो ।
यसअघि, आज बिहान राष्टपति भण्डारीले बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको जनवादी गणतन्त्र चीनका सहिदहरुको स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी तियानमेन स्क्वायर पुग्दा सम्मानमा राष्ट्रिय धुुन बजाइएको थियो ।
प्रसिद्ध पर्यटकीय स्थलसमेत रहेको तियानमेन क्षेत्रमा नेपाल र चीनका झन्डा फहराइएका छन् ।
भेटवार्तापछि राष्ट्रपति भण्डारी रात्रिभोजमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार नेपाल र चीनका विभिन्न पक्षबीच ३ सम्झौतामा हस्ताक्षर भएको थियो । गएको बुधबार चीन भ्रमणमा जानु भएकी राष्ट्रपति भण्डारी आउँदो १९ गते बिहिबार स्वदेश फर्कनुहुनेछ ।







प्रतिक्रिया दिनुहोस्