
काठमाडौं,१३ मङसिर । काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।
नयाँ बसपार्कमा रहेको स्वस्तिका त्रिवेणी गेष्टहाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास कुँवरको हत्या भएको हो । बालक मंगलबार साँझ होटलबाटै हराएका थिए । बालकको शव म्हेपीमा भेटिएको र उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
अपहरण र हत्यामा संलग्नताको आशंकामा मृतक कुँवरका बुबाको गाडी चालक महेन्द्र सार्कीलाई पक्राउ गरिएको एसएसपी सिंहले बताए ।
बालकको शव खोला किनारमा झोलामा पोको पारिएको अवस्थामा फेला परेको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार गेष्टहाउसमा आमाबाबु नभएको समयमा चालक सार्कीले बालकलाई गाडीमा हालेर बालाजु बाइपासबाट माथितिर लगेका थिए । उनी डेढमहिना अघिमात्रै होटल सञ्चालक कुँवरका चालक बनेका थिए ।
प्रहरीसँगको बयानमा सार्कीले प्रयासको मुखमा कपडा कोचेर मारेको बताएका छन् । अन्य कुरा भने सार्कीले खुलाएका छैनन् । अपहरण फिरौतीका लागि भएको हुनसक्ने प्रहरीको आशंका छ । स्रोतका अनुसार चालक सार्कीलाई मंसिर ११ गते साँझ नै पक्राउ गरिएको थियो । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको थियो । सार्कीले आज आफैंले प्रहरीलाई बालकको शव देखाएका थिए ।








प्रतिक्रिया दिनुहोस्