
काठमाडौं, ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना हुनै लाग्यो । साउन १० गते बलात्कारपछि उनको हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव गाउँनजिकैको उखुबारीमा फेला परेको थियो ।
साउन ११ देखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन ।
बालिका निर्मलाको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान गर्न गठित समितिले निलम्बित सबै प्रहरीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको टोलीले निलम्बित प्रहरी अधिकारीहरु एसपी डिल्लीराज विष्ट, डिएसपी अंकुर जिसी, ज्ञानबहादुर सेठी लगायत पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको छ ।
समितिका एक सदस्यका अनुसार घटनास्थलमा निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी साउदको पोलिग्राफ परीक्षण भइसकेको छ । यद्यपि, त्यसको रिजल्ट आउन बाँकी छ । यसअघि भदौ अन्तिम साता एसपी विष्ट, उनका छोरा किरण, मेयरका भतिजा आयुषको पनि डीएनए परीक्षण गरिएको थियो ।
सीसी टिभी फुटेज रिस्टोर हुदैँ
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले स्थानीय ओपेरा होटलको सीसी टीभी फुटेज ‘रिस्टोर’ गर्नलाई केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । स्थानीयले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रका भतिज र एसपीका छोरा किरणमाथि निर्मला पन्त बलात्कार प्रकरणमा आशंका व्यक्त गरेपछि ओपेरा होटलको फुटेज रिकभर गर्न लागेको हो ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतका अनुसार घटना भएको दिन किरण त्यहाँ बसेको जानकारी आएपछि फुटेज रिकभर गर्न लागिएको हो । ‘रिजल्ट आइसकेको छैन उनले भने । प्रहरीले त्यस होटलसहित आसपास रहेका अन्य सीसी टिभीहरुको हाड डिस्क पनि रिकभर गर्न पठाएको जनाइएको छ । होटलको सीसी टिभी १५ दिनमा अटो डिलिट हुने सिष्टममा रहेको प्रहरीको भनाइ छ ।
१९ जना प्रहरी अधिकारीहरुको सीम कार्ड फिर्ता
समितिले अनुसन्धानमा संलग्न १९ जना प्रहरी अधिकारीहरुको सीम कार्ड जफत गरेको थियो । जसको अध्ययनपछि शुक्रबार साँझ फिर्ता गरिएको छ ।
घटनामा प्रहरीले गैरजिम्मेवारपूर्ण गतिविधि गर्नु पछाडिको अनुसन्धान गरिरहेको टोलीले उनीहरुको मोबाइल अध्ययन गरेपछि फिर्ता गरेको हो । समितिका संयोजक बस्न्यात अनुसन्धान भइरहेको बताउँदै चाँडै निष्कर्षमा पुगिने बताउँछन् ।
सेनाको ब्यारेकबाट त्यस दिन बाहिर निस्किएका अधिकारीहरुमाथि अनुसन्धान जारी
कञ्चनपुर प्रहरीका एक अधिकारीले निर्मलाको ‘स्पाइनल कर्ड’ भाँच्चिएर ज्यान गएको बताउँदै घटनामा ‘प्रोफेसनल’ व्यक्ति संलग्न भएको हुनसक्ने आशंका व्यक्त गरे ।
सोही आशंका निर्मलाको हत्या भएको दिन घटनास्थल नजिकै रहेको सेनाको ब्यारेकबाट निस्किएका अधिकारीहरुमाथि पनि छानबिन भइरहेको छ । त्यसदिन ब्यारेकबाट निस्किएका अधिकारीहरुको कल डिटेल रेकर्ड (सीडीआर) हेर्ने काम भइरहेको ती अधिकारीले बताए ।







प्रतिक्रिया दिनुहोस्