काठमाडौं, ३१ भाद्र। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजीं) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको हो ।
यसअघि यसै प्रयोजनका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिको दायरा फराकिलो बनाउँदै प्रहरी प्रधान कार्यालयले डीआईजी बस्नेतको नेतृत्वमा समिति बनाएको हो ।
यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती , कमी कमजोरीको छानबिन र अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए ।
प्रहरीले दोषीको रुपमा उभ्याएको अभियुक्त डिएनए परीक्षणपछि फर्जी सावित भएका थिए । त्यसलगत्तै गृह मन्त्रालयले पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धानलाई तिव्र पार्न डिआइजी बस्नेतको संयोजकत्वमा छानबिन समिति बनाइएको हो ।
शंका गरेकामाथि प्रहरीले छानबिन नगरेको स्थानीयको गुनासो रहेको छ । प्रहरीले दिलिपसिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेपछि व्यापक विरोध भएको थियो । तर, अहिले विष्ट पनि छुटिसकेका छन् ।
निर्मला हत्याकाण्डमा प्रहरीको कमजोरी छर्लङ्ग भएपछि प्रधान कार्यालयले अनुसन्धानका लागि तदरुकता देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्