बाग्लुङ, ३० भाद्र । बाग्लुङको बडिगाड खोला पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ ।
शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम टरिसकेको छैन ।
खोला थुनिएको जानकारी पाएलगत्तै बाग्लुङ जिल्लाका नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खोलाको बहाव खोल्ने प्रयासका लागि रातिदेखि नै सो क्षेत्रमा परिचालन गरिएको थियो । तर, उनीहरुले नखोल्दै शनिबार बिहानपखबाट पानी आफै ‘ओभर फ्लो’ भएर बग्न सुरु गरेको छ ।
शुक्रबार राति साढे ११ बजेबाट थुनिएको खोलाको बहाव शनिबार बिहान साढे पाँच बजेबाट आफै बग्न थालेको बाग्लुङका प्रहरीले जनाएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने पानी बग्न सुरु गरेकाले केही हदसम्म जोखिम कम हुँदै जान थालेको बताए । तर पनि सामान्य अवस्था नहुन्जेल खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको उनले जानकारी दिए । ‘खोला किनारमा रहेका सबै मानिसहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको पौडेले बताए ।
प्रतिक्रिया दिनुहोस्