ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भद्रपुरमा पुस्तकालय छन्, पाठक छैनन्


bhawani desk
भाद्र १३, २०७५ बुधबार  १ : १६ बजे

भद्रपुर, १३ भाद्र । सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ ।

ऐतिहासिक महत्व बोकेको ६७ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ ।
“पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ्चालनमा कुनै ध्यान दिएको छैन” – भद्रपुरबाट प्रकाशित नौलो आवाज पत्रिकाका सम्पादक दीपक अधिकारी भन्नुहुन्छ ।

पश्चिम झापाको गौरीगञ्जमा २०११ सालमा स्थापना भएको अर्को ऐतिहासिक महत्वको त्रिभुवन आदर्श पुस्तकालयसमेत पाठक गुमाएर संकटबाट गुज्रिरहेको छ ।
खजुरगाछी बजारमा दुई कठ्ठा जग्गामा निर्माण भएको एक तले पक्की भवनमा यो पुस्तकालय छ । एक हजार पुस्तक संगृहीत यो पुस्तकालयको गौरादह–९ मा आफ्नै स्वामित्व रहेको खेतीयोग्य तीन विघा जग्गा छ ।

एक जना कर्मचारीले बिहान र बेलुका पुस्तकालय खुला गरेर नियमित रेखदेख गर्दै आएपनि पुस्तक पढ्ने पाठकहरु भने आकर्षित हुन सकेका छैनन् । मदन पुरस्कार विजेता साहित्यकार दौलतविक्रम विष्टले २०४५ सालदेखि ३ वर्षसम्म गौरीगञ्जमा बसेर यही पुस्तकालयमा साहित्य साधना गर्नुभएको थियो ।

मुलुकभरमै कहलिएको मेचीनगरको त्रिफला राष्ट्रिय पुस्तकालय र गौरादहको गौरादह सामुदायिक पुस्तकालयले पनि पाठक नपाउने समस्या झेलिरहेका छन् । भौतिक साधन स्रोतले सक्षम भएपनि यी पुस्तकालयप्रति अध्ययनमा रुची राख्ने नयाँ पुस्ता आकर्षित नहुँदा पुस्तकालय सुनसान भएका छन् ।

मेचीनगर वडा नं १० धुलावारीमा २०५३ सालमा सन्त स्वभावका प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ले धार्मिक पुस्तक संरक्षण गर्ने उद्देश्यले घुम्ती पसलबाट त्रिफला राष्ट्रिय पुस्तकालयको स्थापना गर्नुभएको थियो ।

दातासँग हात थापेर उहाँ पुस्तकालयका लागि दुई कठ्ठा पाँच धुर जग्गामा भव्य तीन तले पक्की भवन बनाउन सफल हुनुभयो । भवनको भुइँ तलामा कम्प्युटर, प्रिन्टर र इन्टरनेट जस्ता उपकरणसहितको सूचना केन्द्र, वाचनालय र पुस्तक सङ्ग्रहालय छ ।
भवनको बीच तलामा आकर्षक सभाहल सञ्चालनमा छ भने माथिल्लो तलामा आवाससहितको वाचनालय निर्माणाधीन छ ।

करीब ५ करोडको सम्पत्ति जोडिसकेको क्रिफला पुस्तकालयले भोगिरहेको सबैभन्दा ठूलो चुनौती भनेकै पाठक आकर्षित गर्न नसक्नु हो । पुस्तकालयका अध्यक्ष फलाहारी भन्नुहुन्छ – पैंतालिस हजार पुस्तक र पत्रपत्रिका छन् । एक जना कर्मचारी खटाएका छौँ । महिनामा मुश्किलले ५० देखि ६० जना मात्र पाठक आउँछन् ।”

साहित्यिक दिवसहरुमा विभिन्न कार्यक्रम गरेर त्रिफलाले पाठकहरुलाई पुस्तकालयभित्र छिराउने प्रयास गरेपनि पुस्तक पढ्नै भनेर आउने पाठकको संख्या एकदमै न्यून रहेको अध्यक्ष फलाहारी स्वीकार गर्नुहुन्छ ।

सात सालमा प्रजातन्त्र आउनु अघि नै पूर्वी नेपालमा भैरवप्रसाद आचार्य गवर्नर रहेको पहिलो समानान्तर सरकार गठन भएको इतिहास छ । उक्त सरकारका शिक्षामन्त्री हुनुहन्थ्यो, भाषाशास्त्री महानन्द सापकोटा । भाषाशास्त्री सापकोटाकै पहलमा २००८ सालमा स्थापना भएको देशकै चर्चित भद्रपुर पुस्तकालयमा पुस्तक पढ्न भनेर २०५७ सालदेखि एउटा पनि पाठकले ढोका ढक्ढक्याएको छैन ।

भद्रपुर–५ मा १० धुर आफ्नै जग्गामा दुई तले पक्की भवनमा सञ्चालित भद्रपुर पुस्तकालयको माथिल्लो तलामा पुस्तक सङ्ग्रह छ भने भुइँतलाका कोठाहरु स्थानीय सब्जी व्यापारीले जबरजस्ती प्रयोग गरिरहेका छन् ।

पुस्तकालय कोठाका झ्यालढोका काम नलाग्ने अवस्थामा छन् भने भवनको छतबाट पानी चुहिन्छ । त्यहाँ राखिएका किताबहरु कीरा र मुसाले ढुट्याइसकेका छन् ।
विसं २०५७ देखि चल्न नसकेर ढोकामा लगाइएको ताला खोल्न २०६७ सालमा हालका प्रदेश सांसद ओमप्रकाश सरावगी र २०७० सालमा समाजसेवी हुलासचन्द्र सरियाको नेतृत्वमा पहल गरिएको थियो तर, पुस्तकालयको ताला अझैसम्म खुलाउन सकिएको छैन ।

इतिहास बोकेको यो पुस्तकालयको संरक्षण र सञ्चालन गर्ने जिम्मेवारी अब स्थानीय सरकारको काँधमा आएको बताउनुहुन्छ, सम्पादक अधिकारी ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन श्रेष्ठले भद्रपुर पुस्तकालय विगतमा राजनीतिक खिचातानीका कारणले धराशायी भएको बताउनुभयो ।

“विगतमा जे भए पनि यो पुस्तकालय भद्रपुरको सम्पत्ति हो र यसलाई पुनः सञ्चालन गर्ने विषयमा हामी छलफल गरिरहेका छौँ” – नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ ।
रिड नेपालले कुनै समय नेपालकै उत्कृष्ट सामुदायिक पुस्तकालय भनी सम्मान गरेको गौरादह सामुदायिक पुस्तकालयमा दुई वर्ष यता एउटा नयाँ पुस्तक पनि थपिएको छैन ।

विसं २०५५ सालमा आफ्नै एक कठ्ठा जग्गामा बनेको पक्की एक तले भवनमा सञ्चालन हुँदै आएको यो पुस्तकालयमा सात हजार ७१३ वटा पुस्तक दर्ता छन् । ई–लाइबे्रेरीका लागि भनेर दाताबाट प्राप्त चार वटा कम्प्युटर प्रयोगविहीन अवस्थामा छन् ।

पाठकको रुची अनुसारका नयाँ पुस्तक थप्न नसक्नु र स्थानीय सरकारले बेवास्ता गरेका कारण गौरादह पुस्तकालय पाठकविहीन बन्दै गएको संस्थापक भोजराज दाहाल बताउनुहुन्छ ।

पाठक नपाएर झापाका ८ वटा पुस्तकालय हालसालै बन्द भएको पुस्तकालय सङ्घ झापाका अध्यक्ष प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ले जानकारी दिनुभयो ।
चन्द्रगढीको लेखनाथ पुस्तकालय र दमकको पब्लिक लाइब्रेरी स्थानीय साहित्यकार तथा युवा पाठकहरुको सक्रियतामा राम्रैसँग सञ्चालन भइरहेका छन् ।

भाषाविद् चूडामणि रेग्मीलगायतको अगुवाइमा २०३५ सालमा स्थापना भएको लेखनाथ पुस्तकालयमा सबै विधाका पाँच हजार भन्दा बढी पुस्तक सङ्ग्रह गरिएको पुस्तकालयका सचिव कृष्ण सुवेदी निराकार बताउनुहुन्छ ।

विसं २०६९ मा स्थापित दमकको पब्लिक लाइब्रेरीमा छ हजार पुस्तक रहेको र पाठकका रुची समेट्ने खालका नयाँ पुस्तकसमेत राखिएका कारण पाठक नघटेको अध्यक्ष भेषराज न्यौपानेले बताउनुभयो ।

राजनीतिक, सामाजिक र शैक्षिक रुपमा अग्रणी जिल्लाको रुपमा चिनिएको झापामा २००७ सालको परिवर्तनपछि दर्जनौँ स्थानमा पुस्तकालय खोलिएका थिए ।
प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएको पञ्चायतकालीन अवस्थामा समेत झापाका चेतनशील युवाले गाउँगाउँमा पुस्तकालय र वाचनालय खोलेर राजनीतिक आन्दोलनलाई ऊर्जा भर्ने कार्य गर्दथे ।

तर अहिले नयाँ पुस्तकालय खोल्ने क्रम ठप्प जस्तै छ भने पुराना र ऐतिहासिक महत्व बोकेका पुस्तकालयसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।
रिडर्स झापाका उपाध्यक्ष दामोदर ढुङ्गेल पुस्तकालय नचले पनि पठन संस्कृति बढ्दै गएको अनुभव सुनाउनुहुन्छ ।

पुस्तकालयहरु पुरानो ढाँचामा चल्ने गरेका र त्यहाँ नयाँ पुस्ताका पाठकले रुचाउने किताब नै नभएका कारण झापाका पुराना पुस्तकालयहरु बन्द हुँदै गएको उहाँको विश्लेषण रहेको छ ।

पत्रपत्रिका र पुस्तकको बिक्री बढ्दै गएको र सर्वसाधारणमा समेत इन्टरनेटको पहुँच बढेसँगै सञ्चारका नयाँ प्रविधिको प्रयोगमा रमाउन थाल्दा पुस्तकालय नै धाएर किताब तथा पत्रपत्रिका पढ्ने रुची आमपाठकमा घट्दै गएको रिडर्स झापाका उपाध्यक्ष ढुङ्गेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

सम्बन्धित

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com