काठमाडौं,९ भाद्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक सचिवालय बैठक बसेको छ । कञ्चनपुरको घटनाबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा नेकपाको बैठक बसेको हो ।
बैठकमा मुलुकभर बढीरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण गरेको नेकपाका नेता नारायणकाजी श्रेष्ठले बताए ।
‘कसैले पनि अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न अपील गर्ने निर्णय भएको श्रेष्ठले बताएका छन ।
नेकपा बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णयसमेत गरेको छ ।
बैठकमा नेकपाका दुबै अध्यक्ष एवं राजधानीमा उपलब्ध सचिवालय सदस्यहरु सहभागी रहेका थिए ।
यसैवीच प्रदेश नम्बर ७ मा पनि कञ्चनपुर गोलीकाण्डबारे छलफल गर्न सर्वदलीय बैठकको तयारी भइरहेको स्रोतले बतायो ।
उता नेकपा सांसद लेखराज भट्टले बेग्लै विज्ञप्ति जारी गर्दै निर्मला हत्या घटनामा गृहमन्त्रालयस्तरीय समितिले काम गर्न नसक्ने भन्दै त्यो भन्दा उच्च स्तरीय न्यायिक छानविन समिति गठन गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्