काठमाडौं ८ भाद्र । महिला हिंसाविरुद्ध प्रतिनिधसभामा प्रस्तुत भएको सङ्कल्प प्रस्ताव पारित भएको छ ।
प्रतिनिधीसभाको शुक्रबारको बैठकले महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्प प्रस्तावमाथि लामो छलफलपछि सर्वसम्मतिले पारित गरेको हो ।
महिला हिंसाविरुद्धको घटना घट्ने भन्दा पनि बढ्ने क्रममा रहेको भन्दै विभिन्न राजनीतिक दलका २२ सांसदले उक्त प्रस्ताव दर्ता गराएका थिए ।
छलफलपछि प्रतिनिधीसभाले महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति तथा सामाजिक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
त्यसघि बैठकमा उक्त प्रस्तावमाथि सांसदहरु उठाएका प्रश्नको जवाफ दिदै महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले पर्याप्त कानूनी व्यवस्था भए पनि नेपाली समाजमा लामो समयदेखिको सामन्तवादी संस्कारका कारण महिलाहरुले न्याय पाउन नसकेको बताउनुभएको थियो ।
प्रतिनिधीसभाको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो ।
त्यस्तै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राख्नुभएको ‘भुक्तानी तथा फट्र्योट विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १० गते आइतबार बोलाईएको छ ।
प्रतिक्रिया दिनुहोस्