ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

पाँच सय विद्यार्थीका अभिभावक बने – ८५ वर्षीय थ्राङ्गु रिन्पोछे


abc

डण्ड गुरुङ

काठमाडौंं, १७ वैशाख । यतिबेला मुलुकभर विद्यालय भर्ना अभियान चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षकै दिन मुगुबाट विपन्न परिवारका एक बालकको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना सुरु गरेपछि मन्त्रीदेखि सांसद, राजनीतिक दलका नेताहुँदै सामाजिक क्षेत्रका अभियन्ताहरू समेत बालबालिकाका अभिभावक बन्दै विद्यालय भर्नाको लहर चलेको छ ।

दुई वर्षभित्र सबै बालबालिकालाई अनिवार्य विद्यालय पुर्याउने सरकारको योजनाअनुसार प्रधानमन्त्री ओलीले भर्ना अभियानको थालनी गरेका हुन् । प्रधानमन्त्रीको यो अभियानलाई साथ दिँदै बालबालिकाको अभिभावक बन्ने होडबाजी नै चलेको छ अहिले । नेताहरूको अभिभावकत्व चर्चाको विषय पनि बनिरहेकै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भर्ना अभियानमा साथ नदिए पनि सत्तारूढ दलका नेता कार्यकर्ता अभियान सफल बनाउन लागेका छन् ।

सरकारले भर्ना अभियान चलाइरहेकै बेला आइतबार ८५ वर्षीय वृद्ध थ्राङ्गु रिन्पोछेले ५ सय विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । ८५ वर्षीय लामा गुरु (रिन्पोछे) ले पाँच सयभन्दा बढी विद्यार्थीको अभिभावक बनेर निःशुल्क शिक्षाको व्यवस्था गरेका हुन् । वयोवृद्ध थ्राङ्गु रिन्पोछे अहिले ८५ वर्ष पुगेका छन् । रिन्पोछेकै अभिभावकत्वमा दुर्गम हिमाली भेगका पाँच सय विद्यार्थी अहिले पठनपाठन गरिरहेका  हुन् ।

बौद्धस्थित मंगलदीप माध्यमिक विद्यालय रिन्पोछेकै संरक्षकत्वमा स्थापना भएको थियो । उनले आफ्नो विद्यालयमा दुर्गम हिमाली भेगका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाएका हुन् । नयाँ भर्ना भएका र विगतमा अध्ययनरत विद्यार्थीका लागि आशीर्वाद दिन रिन्पोछे आइतबार विद्यालय पुग्दा विद्यार्थीमा खुसियाली छायो ।

उनीहरूले हाम्रो अभिभावक भन्दै उत्सव नै मनाए । लामा गुरुले पनि विद्यार्थीलाई आशीर्वाद दिए । सबै खर्च आफैले बेहोर्ने पूर्वयोजनाअनुसार रिन्पोछेले पुनः सबैको अभिभावकत्व ग्रहण गरे । विद्यालयमा पहुँच नभएका बालबालिकाका लागि सरकारले विद्यार्थी भर्ना अभियान व्यापक बनाएको छ । हरेक वर्षजसो सरकारको मुख्य अभियान नै बालबालिकालाई विद्यालयमा भर्ना हुने गरेको छ ।

थ्राङ्गु रिम्पोछेले भने विगत ३० वर्षदेखि विद्यालयको पहुँच बाहिर रहेका दुर्गम हिमाली भेगका बालबालिकालाई शिक्षा दिलाउने काम गर्दै आएका हुन् ।  ‘घोषणा गरेर, प्रचार गराएर मात्रै होइन, यस्ता असहायलाई शिक्षा दिलाउनु पर्छ भन्ने सोचेर मनको शान्तिका लागि ३० वर्षदेखि पढाउने काम गरेको हो, यो हामी सबै नेपालीको दायित्व हो भन्ने लाग्छ,’ लामा गुरु थ्राङ्गु रिम्पोछेले सौर्य दैनिकलाई बताए ।

यसरी थालियो अभियान

लामा गुरुका रूपमा थ्राङ्गु रिम्पोछे नेपालका सबैजसो हिमाली जिल्लामा पूजापाठ गर्न, प्रवचन दिन जाने गर्थे । त्यसबेला धेरै बालबालिका भौगोलिक विकटताले विद्यालय जान नपाएको आफ्नै आँखाले देखे, सुने । ती दृष्यहरूले लामा र आनी पढाउने कि भन्ने सोच आयो उनमा । तर, सबैलाई शिक्षा दिन पाइयो भने भविष्यमा बालबालिकाले चाहेको विषयमा अघि बढ्न सक्ने निष्कर्ष रिम्पोछेमा आयो ।

अनि हिमाली जिल्लाका धेरै भक्तजन र अभिभावकहरूको अनुरोधपछि सबै खालका बालबालिका पढ्न सक्ने गरी बौद्धको तीनचुलेमा स्थापना गरे, ‘मंगलदीप माध्यमिक विद्यालय ।’  देशविदेशमा रहेका भक्तजन र शिष्यहरूको सल्लाहमा बौद्ध तीनचुलीमा सन् १९८७ मा उनले सो विद्यालय स्थापना गरेका हुन् ।

गोन्पा विहारमा दिइने शिक्षाबाहेक आधुनिक, औपचारिक र व्यावहारिक शिक्षा दिने यो विद्यालय सरकारको स्वीकृतिमा सञ्चालित छ । विशेषतः गोर्खा, मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक, मुगु लगायतका हिमाली जिल्लाका बालबालिकाहरू यस विद्यालयमा निःशुल्क अध्ययन गरिरहेका छन् ।

हिमाली जिल्लामा पूजापाठ गर्न जाँदा बालबालिकाहरू पढ्न नपाएको देखेपछि विद्यालय स्थापना गरेको रिम्पोछेले स्मरण गरे । शिक्षाको पहुँच नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने प्रयास स्वरूप देशका लागि केही योगदान गर्न विद्यालय सञ्चालन गरिएको रिम्पोछेले बताए ।

अभिभावक बन्दा खुसी

थ्राङ्गु रिम्पोछे आइतबार विद्यालय परिसर प्रवेश गर्दै थिए । विद्यार्थी लामवद्ध देखिए । सबैले नमस्कारको अभिभादनसहित उनको स्वागत गरे । सबैले सम्मान प्रकट गरे । थ्राङ्गु रिम्पोछे आसनमा बसे । वुद्ध वचनमार्फत आशीर्वाद दिए ।

त्यो बेला विद्यार्थीको मुहारमा बेग्लै खुसी छायो । आफ्ना अभिभावकलाई विद्यार्थीले बेलामौकामा मात्र देख्न पाउने गरेका छन् । थ्राङ्गु रिम्पोछे सामान्यतः विदेशमा बौद्ध धर्मको शिक्षण, पूजापाठ र प्रवचनमा व्यस्त रहन्छन् । त्यसैले पनि आकलझुकल विद्यालय आइपुग्ने रिम्पोछेलाई पाउँदा विद्यार्थी निकै खुसी देखिए ।

एकादुई विद्यार्थीको अभिभावक बन्न पाउँदा नेता र सामाजिक व्यक्तित्वहरू निकै खुसी देखिन्छन् । समाचार बन्छ । सार्वजनिक रूपमा चर्चाकै विषय बन्ने गरेको छ । थ्राङ्गु रिम्पोछे पनि पाँच सय विद्यार्थीको अभिभावक बन्दाको सकसबीच निकै खुसी भेटिए ।

उनले भने, ‘बुद्ध जन्मेको देशमा बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक बनेर सेवा गर्न पाउँदा निकै खुसी छु ।’ विद्यालयको मुख नदेखेका बालबालिकाले अध्ययन गरिरहेका छन् । विद्यार्थी खुसी छन् । विद्यार्थी खुसीका साथ पढ्न पाउनु नै आफ्नो खुसी भएको संस्थापक संरक्षक थ्राङ्गु रिम्पोछेले सौर्य दैनिकलाई बताए ।

बुद्ध धर्मको मुख्य उद्देश्य नै शान्ति भएको स्मरण गर्दै उनले विद्यार्थी खुसी हुनु नै शान्तिको पर्याय भएको स्पष्ट गरे । ‘एउटा अभिभावक त्यो बेला खुसी हुन्छ, जुनबेला आफ्ना परिवार खुसी हुन्छ,’ उनले भने, ‘बालबालिकाहरू खुसी छन्, त्यसैले म पनि खुसी छु ।’

दानबाट विद्यालय सञ्चालन

विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि पूरै निःशुल्क शिक्षा दिने गरिन्छ । विद्यार्थीका लागि खाने, बस्ने, लत्ताकपडा, पुस्तक सबै विद्यालय व्यवस्थापन समितिले नै गर्छ । त्यसका लागि सबै व्यवस्था गुरु थ्राङ्गु रिम्पोछेले पाउने भिक्षा, दान नै मुख्य स्रोत हो ।

देश–विदेशमा हुने प्रवचन, पूजापाठबाट प्राप्त हुने दान नै विद्यालय सञ्चालनको मुख्य स्रोत हो । त्यसैले पनि विद्यार्थीको सेवाका लागि ८५ वर्षीय वयोवृद्ध थ्राङ्गु रिम्पोछे प्रायः विदेशमै विभिन्न कार्यक्रममा व्यस्त रहन्छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामा वाङ्चु गुरु थ्राङ्गु रिम्पोछेको ‘कृपा’ बाट विद्यालय सञ्चालन भइरहेको बताउँछन् । विद्यार्थीको खानपिन, लत्ताकपडा, होस्टल, किताब, कापी कलमको सबै व्यवस्था विद्यालयले नै गर्ने गरेको छ । विद्यालयको अरू स्रोत नभएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष लामाले भने, ‘गुरु थ्राङ्गु रिम्पोछेले प्राप्त गर्नुहुने दानबाट नै विद्यालय सञ्चालन हुने हो ।’

थ्राङ्गु रिम्पोछेको स्वास्थ्य स्थिति पनि कमजोर बन्दै गएको छ पछिल्लो समय । सहाराविना हिँडडुल गर्न सक्दैनन् । तैपनि, पाँच सय बढी विद्यार्थीको भविष्यका लागि निरन्तर क्रियाशील छन् । ३ सय ६० आवासीय विद्यार्थी छन् । विद्यालयमा तीन प्रकारका विद्यार्थी अध्ययन गर्छन् । पहिलो, साधारण विद्यार्थी, जसले विद्यालयका औपचारिक पोसाक लगाउँछन् । दोस्रो, गोन्पामा धार्मिक अध्ययनका साथै विद्यालयका औपचारिक शिक्षा गर्छन्, जुन भिक्षु पोसाकमा हुन्छन् । तेस्रो, भिक्षुणीको पोसाकमा औपचारिक अध्ययन गर्छन् ।

धेरैजसो दुर्गम हिमाली जिल्लाका बालबालिका भएकाले उनीहरू चाँडबाड र लामो बिदामासमेत घर जाँदैनन् । आउन जानका लागि नै समय लाग्ने भएकाले उनीहरू विद्यालयमै बस्छन् । त्यसबेलाको सबै खर्च विद्यालयले नै गर्दै आएको व्यवस्थापन समितिका अध्यक्ष वाङ्चुको भनाइ छ ।

अहिलेसम्म यो विद्यालयबाट तीन सयभन्दा बढी विद्यार्थीले एसएलसी-एसइई पूरा गरिसकेका छन् । केही सामाजिक जीवनका विभिन्न क्षेत्रमा छन् । कतिपय देश–विदेशमा उच्चशिक्षा हासिल गर्दै छन् । कतिपय विद्यार्थी भने आफूले अध्ययन गरेको विद्यालयमै स्वयंसेवक बनेर काम गरिरहेको भेटिए ।

खुसी विद्यार्थी

गोर्खा घर भएका ग्युर्मे छेवाङ लामा अहिले प्लस–टु अध्ययन गरिरहेका छन् । लामा मंगलदीप माविकै पूर्वविद्यार्थी हुन् । समय निकालेर आफूले अध्यापन गरेको विद्यालयमा उनी आउँछन् । सकेको सघाउँछन् । साना भाइबहिनीहरूलाई पढाउँछन् । उनी विद्यालयमै भेटिए । विद्यार्थीका बीचमा उनी सहजीकरण गरिरहेका थिए । ‘आफूलाई निःशुल्क रूपमा पढाउने विद्यालयलाई केही सहयोग गरौँ भनेर आइरहेको छु,’ उनले भने, ‘गुरु थ्राङ्गु रिम्पोछ जसरी नै कमजोर मानिसलाई सेवा गर्ने चाहना छ ।’

काभ्रेकी संगीता तामाङ पनि भर्खरै मात्र जापानमा प्लस–टु सकाएर फर्किएका छिन् । पूर्ण छात्रवृद्धिमा जापान अध्ययन गर्न गएकी संगीता मंगलदीपकै पूर्वविद्यार्थी हुन् । उनी पनि मंगलदीपमै अध्यापन गराइरहेको भेटिइन् । पढाउने र भविष्य सुनौलो बनाउने विद्यालयमा आफूले पनि केही योगदान गर्न पाउँदा उनलाई निकै खुसी लागेको अनुभुति छ ।

विद्यार्थीमा पनि छुट्टै उत्साह छ । छुट्टै खुसी छ । स-साना बालबालिकाले घरायसी वातावरण पाएका छन् । उनीहरू निकै खुसी देखिए । मंगलदीपमा कक्षा ४ मा अध्ययनरत गोर्खा चुम्मा निमाले ‘यहाँ त सबै सित्तैमा पाउँछौँ’ भन्दै थिए । रिम्पोछेलाई अभिभावक मानेका विद्यार्थीमध्ये भविष्यमा कोही डाक्टर, कोही इञ्जिनियर, कोही शिक्षक त, कोही गुरु जस्तै धर्म गुरु बन्ने चाहना राखेका छन् ।

सरकारसित आश

वृद्ध थ्राङ्गु रिम्पोछे रूपमा बालबालिकाकै भविष्यको चिन्तामा थिए । तर उनी भन्दै पनि थिए, बालबालिकाको भविष्यका लागि सबैले सघाउनु पर्छ । आफूपछि पनि भविष्यमा अरू कसैले सहयोग गरिदिएमा बालबालिकाको भविष्य राम्रो हुने थियो । दुर्गम हिमाली भेगका बालबालिकाले पढ्न पाउने थिए । सरकारसित पनि खासै आशा र अपेक्षा थ्राङ्गु रिम्पोछेको थिएन ।

सकेको पहल गर्ने, बालबालिकाको अध्ययनलाई सुनिश्चित गर्नका लागि भविष्यमा समेत निरन्तरता दिनका लागि थ्राङ्गु फाउन्डेसन बनाएर अघि बढेको छ । सोही फाउन्डेसनअन्तर्गत विद्यालय सञ्चालनमा छ । सरकारले सहयोग गरिदियो भने विद्यालयलाई थप सहयोग पुग्ने संस्थापक रिम्पोछेको अपेक्षा छ । उनी भन्छन, सबैतिर हेर्नुपर्यो, सरकारलाई नि गाह्रो छ । तर, यो विद्यालयमा दुर्गमका बालबालिका पढ्छन्, सरकार सबैको अभिभावक हो । यो विद्यालयलाई पनि मद्दत गरिदिनुपर्छ ।

कतिपय बेलामा आफ्ना बालबालिकाले दुःख पाएकोप्रति थ्राङ्गु रिम्पोछेको गुनासो पनि छ । सितापाइलास्थित बिहारबाट भिक्षुणीहरू पढ्न तीनचुली पुग्नुपर्छ । भिक्षुणीको ड्रेस देखेपछि प्रहरीले रोकेर परीक्षा नै छुटाइदिएको घटना पनि छन् । त्यसैले विद्यालयकै गाडीमा हिँडेका विद्यार्थीहरूलाई दुःख नदिए राम्रो हुने उनको सुझाव पनि छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

गलकोट, ३ वैशाख  :बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा

हराएको ३७ वर्षपछि फकिएको मूर्ति हस्तान्तरण

काठमाडौँ, ३ वैशाख :ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व

मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्र्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताउनुभएको

सम्बन्धित

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपिल

आज नेपालमा ४९० जना कोरोना संक्रमित, ५ को मृत्यु

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, अधिवेश बोलाउन समावेदन

आजको मौसम पूर्वानुमान: चट्याङसहित वर्षाको सम्भावना

राष्ट्रिय मेयर सम्मेलन’बाट पोखरा घोषणापत्र जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com