काठमाडौं, २९ जेठ । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा देखिएको प्राविधिक समस्या अधिकांश प्रयोगकर्ताका लागि समाधान भएको छ ।
केही घण्टाअघि विश्वका विभिन्न देशसहित नेपालमा पनि यी प्लेटफर्म प्रयोग गर्न समस्या देखिएको थियो ।
समस्या समाधान भएसँगै अधिकांश प्रयोगकर्ताले फेसबुक, मेसेन्जर र इन्स्टाग्राम सामान्य रूपमा प्रयोग गर्न थालेका छन् । यद्यपि, केही प्रयोगकर्ताले भने अझै पनि आफ्नो खातामा लगइन गर्न समस्या भइरहेको भन्दै एक्स (ट्विटर) र रेडिटलगायत अन्य सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् ।
यसअघि फेसबुक एप नखुल्ने, मेसेन्जर स्वतः लगआउट हुने तथा इन्स्टाग्राम चलाउन कठिनाइ भएको भन्दै हजारौँ प्रयोगकर्ताले सेवा अवरुद्ध भएको रिपोर्ट गरेका थिए । सेवा निगरानी गर्ने वेबसाइटहरूमा पनि फेसबुकका सेवामा व्यापक समस्या देखिएको उल्लेख गरिएको थियो ।
फेसबुकको मातृ कम्पनी मेटाले समस्याको कारणबारे विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन । केही प्रयोगकर्तामा अझै लगइनसम्बन्धी समस्या कायम रहेकाले सेवा पूर्ण रूपमा स्थिर हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।
नेपालका प्रयोगकर्ताले पनि सेवा पुनः सञ्चालनमा आएपछि फेसबुक, मेसेन्जर र इन्स्टाग्राम प्रयोग गर्न थालेका छन् । तर, छिटफुट रूपमा लगइन र कनेक्सनसम्बन्धी समस्या रहेको अनुभव सामाजिक सञ्जालमार्फत गुनासो गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्