काठमाडौं २२ जेष्ठ । लिबियाको राजधानी त्रिपोलीमा गैरकानूनी आप्रवासीहरूको व्यवस्थापन र बसोबासको विषयलाई लिएर असन्तुष्टि जनाउँदै सयौँ प्रदर्शनकारीहरूले बिहीवार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) को कार्यालय बन्द गराएका छन् । स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीका अनुसार, मध्य त्रिपोलीस्थित यूएनएचसीआरको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरूले देशमा गैरकानूनी आप्रवासीहरूको बसोवास गराउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरूले आप्रवासीहरूको स्थायी बसाई सुनिश्चित गर्ने कुनैपनि योजनाको कडा विरोध गर्दै उनीहरूलाई तत्काल देशनिकाला गर्न माग गरेका छन् ।प्रदर्शनकारीहरूले कार्यालयको मुख्य प्रवेशद्वारहरू अवरुद्ध पारेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । हालसम्म प्रदर्शनका क्रममा कुनै झडप वा चोटपटकको विवरण प्राप्त भएको छैन । लिबियामा पछिल्ला केही दिनदेखि गैरकानूनी आप्रवासनको समस्यालाई लिएर सार्वजनिक र सरकारीस्तरमा व्यापक बहस र चासो बढिरहेको छ । प्रदर्शनकारीहरूले सबै गैरकानुनी आप्रवासीहरूले लिबिया नछोडुन्जेल आफ्नो आन्दोलन र धर्ना कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् ।
यस घटनाका सम्बन्धमा यूएनएचसीआरले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
भौगोलिक अवस्थिति र खुला स्थल तथा समुद्री सिमानाका कारण लिबिया लामो समयदेखि भूमध्यसागर पार गरी युरोप प्रवेश गर्न चाहने आप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट बिन्दुको रूपमा रहँदै आएको छ । तर पछिल्लो समय आप्रवासीहरूको बढ्दो चापले गर्दा स्थानीय स्तरमा सामाजिक र सुरक्षासम्बन्धी चिन्ताहरू व्यक्त हुन थालेका छन् ।








प्रतिक्रिया दिनुहोस्