काठमाडौं, ८ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई आइतबारपछि हिरासतमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतले पछिल्लो पटक जिल्ला अदालत पर्साले दिएको चार दिनको हिरासत अनुमति समाप्त भएपछि पनि थप म्याद नथप्न र अनुसन्धान भए पनि नभए पनि हिरासतमुक्त गर्न निर्देशन दिएको हो।
यसअघि जिल्ला अदालत पर्साले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने त्यसअघि तीन दिन हिरासतमा राखिएको थियो।
प्रसाईंलाई कार्यक्रमका लागि पर्सा पुगेका बेला प्रहरीले पक्राउ गरेको हो। हाल उनी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन्।
उनको तर्फबाट बन्दी प्रत्यक्षीकरण (हबियस कोर्पस) निवेदन दायर गरिएको थियो। सोही मुद्दाको सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेय को इजलासले उक्त आदेश जारी गरेको हो।
वीरगञ्जको होटल सिद्धार्थ दियालोमा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिका आधारमा उनलाई साइबर अपराध र राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको थियो।
अदालतले प्रसाईं स्वास्थ्य समस्याबाट पीडित रहेको तथा नियमित उपचार आवश्यक पर्ने अवस्था रहेको उल्लेख गर्दै उनी भाग्ने सम्भावना न्यून रहेको निष्कर्षसमेत निकालेको छ।
सर्वोच्चको आदेशसँगै अनुसन्धान तोकिएको समयसीमाभित्र पूरा नभए पनि उनलाई हिरासतमा नराखी प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।








प्रतिक्रिया दिनुहोस्