ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन प्रदेशका ३५ जिल्लाका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि छान्ने


admin

 

काठमाडौँ, १४ असार । दोस्रो चरणको स्थानीय तहको देशका तीन प्रदेश प्रदेश नं १, ५ र ७ मा ३३४ स्थानीय तहको निर्वाचन भइरहेको छ ।

यस निर्वाचनअन्तर्गत तीन प्रदेशका ३५ जिल्लाका ६४ लाख ३२ हजार ७६५ मतदाताले आफ्ना १५ हजार ३८ जनप्रतिनिधि छान्नेछन् । आज भइरहेको चुनाव एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुन लागेको छ । निर्वाचन तीन प्रदेशका चार हजार ५८१ मतदानस्थलका आठ हजार ३६४ मतदान केन्द्रमा भइरहेको छ ।

आज भइरहेको चुनाव प्रदेश नं १ मा मेची, कोसी र सगरमाथाका केही जिल्ला, प्रदेश नं ५ मा राप्ती, लुम्बिनी र भेरीका केही जिल्ला तथा प्रदेश नं ७ मा सेती र महाकाली अञ्चलका जिल्लामा हुन लागेको हो ।

यस निर्वाचनमा ४७ संस्थाका सात हजार ८९ पर्यवेक्षकलाई पर्यवेक्षण अनुमति दिइएको छ भने कूटनीतिक नियोगका सदस्यहरुलाई पूर्वका विराटनगर र धनकुटा, पश्चिमाञ्चलका भैरहवा र पाल्पा तथा सुदूर पश्चिमाञ्चलका धनगढी र डडेल्धुरामा अवलोकन भ्रमण गराइने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको प्रथम चरणमा गत वैशाख ३१ मा भएको निर्वाचनमा ३४ जिल्लाका ४९ लाख ५६ हजार ९२५ मतदाताले १३ हजार ५५६ जनप्रतिनिधि छानेका थिए भने ती प्रतिनिधिले शपथग्रहण गरेर आफ्ना स्थानीय तहमा कार्य गर्न थालिसकेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नेतृत्वमा पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र दोस्रो चरणको आज हुँदै गरेको चुनावमा पनि मतदाताले निर्बाध रुपमा आफ्ना जनप्रतिनिधि छान्न पाउने विश्वास गरिएको छ ।

आज हुन गइरहेको निर्वाचन विसं २०७२ को सङ्घीय गणतन्त्रात्मक संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा पुनर्संरचना भएपछिका सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन गर्नुपर्ने दायित्वअन्तर्गत प्रथम चरणमा स्थानीय तहको निर्वाचन हुन लागेको हो । यही २०७४ साल माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक दायित्वअन्तर्गत यो निर्वाचन अपरिहार्य रहेको छ ।

संविधानबाटै देश सङ्घीय गणतन्त्रमा प्रवेश गरेको सन्दर्भमा सङ्घीय व्यवस्थाअनुसार सीमाङ्कन भएका सात प्रदेशका ७४४ स्थानीय तहको निर्वाचन हुने सिलसिलामा आज दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

गत वैशाख ३१ मा तीन प्रदेश– प्रदेश नं ३, ४ र ६ का २८३ तहमा निर्वाचन सम्पन्न भएपछि बाँकी ४३ जिल्लाका ४६१ तहमा जेठ ३१ मा निर्वाचन हुनुपर्नेमा विभिन्न राजनीतिक कारणवश प्रदेश नं २ मा हुन नसक्ने अवस्था भएकाले निर्वाचनको तिथि आजकै लागि सारिएको थियो । सो निर्वाचन सारिँदा एकैपटक गर्न सकिने चुनाव पटक पटक गरी अनावश्यक रुपमा सारिएको भन्ने आलोचना भएको थियो । तर आजको चुनावमा पनि नवगठित मधेस केन्द्रित दल – राष्ट्रिय जनता पार्टी नेपालले भाग लिने तत्परता नदेखाएकाले सो दललाई पनि संविधान कार्यान्वयनको पहिलो खुड्किलोस्वरुप स्थानीय तहको निर्वाचनमा सहभागी गराउने प्रयासस्वरुप प्रदेश नं २ का आठ जिल्लामा मात्र असोज २ मा हुने गरी पुनः सारिएको छ भने बाँकी प्रदेश नं १, ५, ७ का ३५ जिल्लामा आज हँुदैछ ।

एकैपटक निर्वाचन गर्न नसक्दा विभिन्न कोणबाट आलोचना खेप्नु परे पनि पहिलो चरणको निर्वाचन तत्कालीन पहिले मधेसवादी दल नै भनेर चिनिने हाल अलि व्यापकता लिएको सङ्घीय समाजवादी फोरम नेपालले पनि पहिलो चरणको निर्वाचनमा भाग लिएको र यसपटकको चुनावमा त्यस दलको बढ्दो प्रभाव र उत्साहले निर्वाचनमा बल नै मिलेको छ ।

तर सीमाङ्कनबारे संविधान संशोधन तथा तराईमा स्थानीय तह थप लगायतका माग राखी चुनावमा भाग लिन आनाकानी गरिरहेको राजपाका कारण प्रदेश नं २ का जनताले भने बीस वर्षपछि आफ्ना स्थानीय जनप्रतिनिधि चुनी नयाँ संविधान अनुसारका स्थानीय सरकारको निर्माण तत्काल गर्न नपाउने भएका छन् ।

तैपनि आज निर्वाचन हुन गइरहेका प्रदेशमा पनि राजपाका स्थानीय नेताहरुले स्वतन्त्र उम्म्ेदवारका रुपमा मनोनयन दर्ता भने गराएका छन् । यसबाट स्थानीय स्तरमा जनताको उत्साह र चाहना तथा जिम्मेवार नेताद्वारा प्रजातान्त्रिक प्रक्रियामा सहभागी भई आफ्नो जनाधारलाई कायम राख्न प्रयास गरिएको स्थितिमा राजपाको द्विविधा स्पष्ट देख्न सकिन्छ । अर्कोतर्फ चुनावमा भाग नलिँदा आफ्नै जनमत गुमाउनुपर्ने, कम योग्य मानिस जितेर जाने र स्थानीय स्तरमा विकासका काममा असर पनाका साथै जनताले प्राप्त गर्ने सेवासुविधामा समेत नकारात्मक असर पर्न सक्दछ ।

पहिलो तथा दोस्रो चरणको चुनावबाट जनप्रतिनिधि चुनिसकेका स्थानीय तहमा जनप्रतिनिधिले आफ्नो क्षेत्रमा विकास निर्माणका कार्य अघि बढाइसक्दा पनि प्रदेश नं २ का जनताले भने जनप्रतिनिधि चुन्न असोज २ सम्म पर्खन पर्नु सो प्रदेशकै लागि पनि हानि हुने देखिन्छ । खासगरी मनसुन सुरु भइसकेपछि बाढीपहिरो जस्ता प्रकोप बढ्ने र यस्तो अवस्थामा बाढी र डुबानको मार खासगरी तराईकै जिल्लामा पर्ने हुनाले पनि सो समयमा जनप्रतिनिधि नहुनुले जनतालाई आफ्ना समस्या भन्ने ठाउँ र जनप्रतिनिधिको अभाव अवश्य नै खट्कनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com