काठमाडौं, ९ चैत । हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचनका बेला प्रयोग गरिएको हेलिकप्टर १६ दिनदेखि यहीँ ‘ग्राउन्डेड’ भएको छ ।२१ फागुनमा सम्पन्न निर्वाचनका बेला माथिल्लो डोल्पाका मतदान केन्द्रबाट मतपेटिका, कर्मचारी ओसार्न प्रयोग भएको श्री एयरलाइन्सको उक्त हेलिकप्टर प्राविधिक समस्या आएपछि १६ दिनदेखि जुफाल विमानस्थलमै ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय डोल्पाले जानकारी दिएको छ ।श्री एयरलाइन्सको दर्ता नम्बर ‘९एन–एडीडी’ हेलिकप्टर १६ दिनदेखि ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय जुफालका प्रमुख राहुल मिश्रले बताए ।हेलिकप्टरमा प्राविधिक गडबडी देखिएपछि २४ फागुनदेखि उडान रोकिएको बताए । प्राविधिक समस्या देखिएपछि हेलिकप्टर उडानयोग्य नभएकाले विमानस्थलमै राखिएको उनले जानकारी दिए ।
निर्वाचनका बेला श्री एयरलाइन्सका दुइटा हेलिकप्टर प्रयोग गरिएकामा एउटा काम सकेर फर्किसकेको थियो भने अर्को जुफालमै ग्राउन्डेड भएको हो ।
हेलिकप्टर मर्मतका लागि प्राविधिक टोली केही दिनभित्रै डोल्पा आउने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्