काठमाडौं (एजेन्सीको सहयोगमा): मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध झन् तीव्र बन्दै गएको छ। विश्वको महत्वपूर्ण तेल मार्ग मानिने हर्मुज जलडमरू नजिक अमेरिकाले इरानका १६ वटा बारुद बिछ्याउने जहाजमाथि आक्रमण गरेको जनाएको छ। यससँगै क्षेत्रीय सुरक्षा, विश्व ऊर्जा आपूर्ति र मानवीय संकटबारे चिन्ता झन् गहिरिएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्ना सैन्य बलले हर्मुज जलडमरू नजिक रहेका इरानी जहाजहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको हो। सार्वजनिक गरिएको भिडियोमा कम्तीमा ९ वटा जहाजमाथि क्षेप्यास्त्र प्रहार भएको देखिएको छ, तीमध्ये धेरै जहाज आक्रमणको बेला बन्दरगाहमै बाँधिएका अवस्थामा थिए।
विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूबाट दैनिक ठूलो मात्रामा तेल र ग्यास ओसारपसार हुने गर्दछ। युद्ध सुरु भएयता जहाज आवतजावतमा उल्लेख्य गिरावट आएको छ, जसले विश्व ऊर्जा बजारमा अस्थिरता ल्याएको छ।
युद्धका सन्देशमा अमेरिकी प्रशासनमै अन्योल
इरानविरुद्धको युद्धबारे अमेरिकी प्रशासनबाट आउने सन्देश भने स्पष्ट देखिएको छैन। ऊर्जा सचिव क्रिस राइटले अमेरिकी नौसेनाले एउटा तेल ट्यांकरलाई सुरक्षित रूपमा हर्मुज पार गराएको दाबी गरे पनि केही समयपछि सैन्य अधिकारीहरूले उक्त जानकारी गलत भएको बताएपछि सो पोस्ट हटाइएको थियो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले तेल आपूर्ति रोक्ने प्रयास गरे “बीस गुणा कडा प्रहार” गर्ने चेतावनी दिएका थिए। साथै उनले युद्ध अन्त्यका लागि इरानले “निशर्त आत्मसमर्पण” गर्नुपर्ने शर्तसमेत राखेका छन्।
तर प्रशासनका विभिन्न अधिकारीहरूले युद्ध कति समय चल्ने र यसको अन्तिम उद्देश्य के हो भन्नेबारे फरक–फरक धारणा व्यक्त गर्दै आएका छन्। यसले अमेरिकी राजनीतिमा समेत बहस चर्काएको छ।

अमेरिकी सेनामा क्षति
पेन्टागनका अनुसार युद्ध सुरु भएदेखि हालसम्म ७ अमेरिकी सैनिक मारिएका छन् भने १४० जना घाइते भएका छन्। तीमध्ये ८ जना गम्भीर घाइतेरहेको जानकारी दिइएको छ। अधिकांश घाइते सैनिक उपचारपछि पुनः सेवामा फर्किएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
लेबनानमा मानवीय संकट
यसबीच इजरायलले इरान समर्थित समूह हिज्बुल्लाह विरुद्ध आक्रमण तीव्र बनाएपछि लेबनानमा ठूलो मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म झण्डै ७ लाख मानिस घरबारविहीन भएका छन्।
बेइरुत र वरपरका क्षेत्रमा विस्थापित नागरिकहरू विद्यालय, सरकारी भवन र सडक किनारमा बस्न बाध्य भएका छन्। राहत संस्थाहरूले खाद्यान्न, आवास र स्वास्थ्य सेवाको गम्भीर अभाव देखिएको चेतावनी दिएका छन्।
युद्धको मानवीय मूल्य
युद्ध सुरु भएयता इरानमा अमेरिकी–इजरायली आक्रमणबाट झण्डै १,३०० जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्।
लेबनानमा इजरायली आक्रमणबाट ५०० भन्दा बढी मानिस मारिएका छन्।
विश्लेषकहरूका अनुसार हर्मुज जलडमरू क्षेत्रमा तनाव बढ्दै जाँदा ऊर्जा आपूर्ति, खाद्य सुरक्षा र क्षेत्रीय स्थिरतामा दीर्घकालीन प्रभाव पर्ने सम्भावना बढेको छ।
मध्यपूर्वको यो युद्ध अब केवल क्षेत्रीय संघर्ष मात्र नभई विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय राजनीति नै प्रभावित गर्ने संकटको रूपमा विकसित हुँदै गएको छ।








प्रतिक्रिया दिनुहोस्