काठमाडौं, २५ फागुन। प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम लगभग टुंगिने चरणमा पुगेका बेला यसपटक संसदमा उल्लेख्य रूपमा युवा सांसदको प्रवेश हुने देखिएको छ। प्राप्त मतपरिणामअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मात्र ४० वर्षमुनिका ५४ जना उम्मेदवार विजयी भएका छन्। समानुपातिकतर्फबाट थप केही युवा सांसद संसदमा आउने सम्भावना रहेको छ।
यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा युवा पुस्ताको उल्लेख्य उदय भएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धेरै युवा उम्मेदवारहरू विजयी हुँदा संसदमा नयाँ पुस्ताको प्रभाव बढ्ने देखिएको हो।
रास्वपाबाट सबैभन्दा धेरै युवा सांसद
प्रत्यक्षतर्फ ४० वर्षमुनिका अधिकांश सांसद रास्वपाबाट निर्वाचित भएका छन्। अन्य दलबाट भने थोरै मात्र युवा उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसबाट ३ जना, नेकपा एमालेबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना र श्रम संस्कृति पार्टीबाट १ जना युवा उम्मेदवार निर्वाचित भएका छन्। बाँकी अधिकांश युवा सांसद रास्वपाबाट संसदमा प्रवेश गर्न लागेका हुन्।
बालेनको ऐतिहासिक जित
देशव्यापी जनलहरसहित रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उभिनुभएका ३६ वर्षीय बालेन शाह भारी मतान्तरले विजयी हुनुभएको छ। उहाँले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै नयाँ राजनीतिक सन्देश दिनुभएको हो।
मतगणनाको अन्तिम परिणामअनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित हुनुभयो।
चर्चित युवा जितहरू
यसपटकको निर्वाचनमा धेरै प्रभावशाली तथा स्थापित नेताहरूलाई युवा उम्मेदवारहरूले पराजित गरेका छन्।
- चितवन–३ बाट ३० वर्षीया सोविता गौतम विजयी भइन्।
- रुपन्देही–२ बाट २८ वर्षीय सुलभ खरेल ले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पराजित गरे।
- मोरङ–६ बाट ३१ वर्षीया रुविना आचार्य ले कांग्रेस नेता शेखर कोइरालालाई हराइन्।
- दाङ–२ बाट ३९ वर्षीय विपिनकुमार आचार्य ले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरे।
- काठमाडौँ–५ मा २९ वर्षीय सस्मित पोखरेल ले प्रदीप पौडेल, ईश्वर पोखरेल र कमल थापाजस्ता हेभिवेट नेताहरूलाई उछिने।
सबैभन्दा कान्छा सांसद
यसपटक प्रत्यक्षतर्फ निर्वाचित हुनेमध्ये मकवानपुर–२ का २५ वर्षीय प्रशान्त उप्रेती सम्भवत: सबैभन्दा कान्छा सांसद बनेका छन्। उनले एमाले नेता महेशकुमार बर्तौलालाई पराजित गर्दै संसद प्रवेशको बाटो खोलेका हुन्।
अन्य दलका युवा सांसद
नेपाली कांग्रेसबाट पनि केही युवा सांसद विजयी भएका छन्।
- रौतहट–२ बाट मो. फिरदोश आलम (३९)
- पाल्पा–१ बाट सन्दीप राना (३८)
- मुस्ताङ–१ बाट योगेश गौचन थकाली (३२)
नेकपा एमालेबाट
- इलाम–२ बाट सुहाङ नेम्वाङ (३६)
- ताप्लेजुङ–१ बाट क्षितिज थेबे (३८) विजयी भएका छन्।
यस्तै श्रम संस्कृति पार्टीबाट आरेन राई (२९) खोटाङ–१ बाट विजयी भएका छन् भने राप्रपाबाट ज्ञानबहादुर शाही (३४) जुम्ला–१ बाट निर्वाचित भएका छन्।
संसदको स्वरूप बदलिने संकेत
यसपटकको निर्वाचन परिणामले संसदको संरचना र राजनीतिक बहसको शैलीमा समेत परिवर्तन आउने संकेत दिएको छ।
विशेषगरी युवा, अभियानकर्ता र नयाँ राजनीतिक अनुहारहरू संसदमा प्रवेश गर्दा नीति, शासनशैली र राजनीतिक एजेन्डामा नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।
विश्लेषकहरूका अनुसार यो परिणामले पुराना दलप्रति असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको विश्वास दुवैलाई प्रतिबिम्बित गरेको देखिन्छ।








प्रतिक्रिया दिनुहोस्