काठमाडौं : नेपालमा जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा आज प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ।
यो निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि हुँदैछ। प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। कुल तीन हजार ४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला, १ अन्य) प्रत्यक्षमा र तीन हजार १३५ उम्मेदवार (१,३६३ पुरुष, १,७७२ महिला) समानुपातिकमा चुनावी मैदानमा छन्।
मतदाता संख्या र व्यवस्था : कुल मतदाता: १ करोड ८९ लाख ३ हजार ६८९ (९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला, २०० अन्य)। अस्थायी मतदाता: १ लाख ८६ हजार १४२। मतदानस्थल: १० हजार ९६७, मतदान केन्द्र: २३ हजार ११२, अस्थायी मतदानस्थल: १४३। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अशक्तलाई प्राथमिकता दिइनेछ।
सुरक्षा व्यवस्था: झण्डै ३ लाख सुरक्षाकर्मी खटिए
- नेपाली सेना: ७९ हजार ७२७
- नेपाल प्रहरी: ७५ हजार ७९७
- सशस्त्र प्रहरी बल: ३४ हजार ५६७
- राष्ट्रिय अनुसन्धान विभाग: १ हजार ९२१
- निर्वाचन प्रहरी: १ लाख ४९ हजार ९०
कुल सुरक्षाकर्मी परिचालन: झण्डै ३ लाख। मतदान गराउन २ लाख १५ हजार कर्मचारी खटिएका छन्। चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी पुर्याइसकिएको छ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पर्यवेक्षण ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्।
उच्च पदाधिकारीहरूको मतदान आह्वान : राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालले सबै मतदातालाई निर्भीक भएर मतदान गर्न आह्वान गरेका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अपिल : “लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान निर्वाचन हो। हरेक मतले राजनीतिक व्यवस्था, शासन, सरकार, नीति र नेतृत्व निर्धारण गर्छ। यो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर आफ्नो अधिकार सुरक्षित गर्नुहोस्। निर्वाचनमा भाग लिनु हरेक मतदाताको कर्तव्य पनि हो।”
आजको मतदानले नेपालको आगामी पाँच वर्षको राजनीतिक दिशा निर्धारण गर्नेछ। सबै मतदातालाई भयरहित र उत्साहजनक रूपमा मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस्