काठमाडौं, १८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको बताएकी छन् ।
जेनजी आन्दोलनपछिको अवस्थाको यो उपलब्धि सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उल्लेख गर्दै उनले सम्मुखमा रहेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन् ।
सोमबार देशवासीको नाममा सम्बोधन गर्दै उनले विभिन्न चार वटा विषयमा नागरिकहरूलाई अपिल गरेकी छन् ।
पहिलोः निर्वाचनमा सरिक भइदिनुहोस्
देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिन प्रधानमन्त्री कार्कीको पहिलो आग्रह छ ।
‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उनले भनेकी छन्, ‘तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु ।’
दोस्रोः मौन अवधिमा अनुशासनको पूर्ण पालना होस्
निर्वाचनको सँघारमा प्रधानमन्त्री कार्कीले सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गरेकी छन् ।
‘शान्ति नै नेपालको असली पहिचान हो । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन,’ उनले भनेकी छन् ।
चुनावी मैदानमा रहेका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो ।’
साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एकरअर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार९प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई उनको आग्रह छ ।
निर्वाचन कार्यमा खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय र सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै उनले भनेकी छन्, ‘निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको छ । निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध छन् ।’
प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्याएको पनि उनले बताएकी छन् ।
प्रधानकन्त्री कार्कीका अनुसार नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत-साधन परिचालन गरेका छन् ।
छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु । साथै, संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौँ ।’
तेस्रोः निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्
प्रधानमन्त्री कार्कीले निर्वाचनकै मुखमा होली अर्थात् फागुपूर्णिमा मनाउँदै गरेको उल्लेख गर्दै उनले शुभकामना दिएकी छन् ।
‘यो रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ,’ उनले भनेकी छन्, ‘निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस् ।’
चौथोः विदेशमा रहेका नेपाली कामदारको रक्षा गर्न सरकार कटिबद्ध
प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको र इरान र त्यसवरपरको तनावले चिन्तित बनाएको बताएकी छन् ।
‘विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो’ उनले भनेकी छन्, ‘त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षासहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ।’
सरकार हरदम त्यस क्षेत्रमा रहेका नेपालीहरूको साथमा रहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ ।’








प्रतिक्रिया दिनुहोस्