काठमाडौं, १० पुस । तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्का ‘ए’ लाई हराएको छ । कोल्ट्स मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले हरायो ।
श्रीलङ्का ‘ए’ ले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ४९ रन बनाए । श्रीलङ्का ‘ए’ का सोनल दिनुषाले २ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलङ्का ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनायो । श्रीलङ्का ‘ए’ चमिका करुणारत्नेले ३८ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिए ।यसअघिका दुई वटै अभ्यास खेलमा नेपाल पराजित भएको थियो । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोली अब भारत जानेछ । भारतमा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट–इलाभेनसँग पनि तीन वटा टी–२० अभ्यास खेल खेल्नेछ ।टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा शुरू हुँदैछ । नेपालले फेब्रुअरी ८ मा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्