काठमाडौं, १, माघ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीमा नयाँ युगको ढोका खोलेको छ। सभापतिमा गगन थापा सर्वसम्मत निर्वाचित हुँदा उपसभापतिमा विश्वप्रकाश शर्मा चयन हुनुले दुवै नेताको लामो राजनीतिक यात्रा र आपसी विश्वासको गहिराइलाई फेरि एकपटक उजागर गरेको छ। यो सम्बन्ध नेविसंघको उपसभापति र सभापतिबाट सुरु भएको थियो, जसले समयको कठिन परीक्षाहरू पार गर्दै कांग्रेसको नेतृत्व परिवर्तनको निर्णायक भूमिका खेल्यो।

नेविसंघबाट सुरु भएको ‘दाजुभाइ’ सम्बन्ध
२०५७–२०५९ तिर विश्वप्रकाश शर्मा नेविसंघका सभापति हुँदा गगन थापा उनका उपसभापति थिए। त्यसबेला विश्वप्रकाशले गगनलाई डोहोर्याएर अघि बढाएका थिए। गगनले स्ववियु चुनावमा विश्वप्रकाशकै हस्ताक्षरबाट टिकट पाएका थिए। यो सम्बन्ध त्यसपछि पनि कहिल्यै कमजोर भएन, बरु झन् मजबुत बन्यो।

तर तेह्रौं महाधिवेशनपछि यो युगलबन्दीमा चोट पुग्यो। देउवाले गगनलाई प्रवक्ता बनाउने सार्वजनिक प्रतिबद्धता गरेका थिए, तर मतभेद बढेपछि विश्वप्रकाशलाई प्रवक्ता बनाइयो। यो घटनाले दुवैलाई फरक–फरक खेमामा पुर्यायो। व्यक्तिगत हार्दिकता भने हराएन।
चौधौं महाधिवेशनमा विश्वप्रकाश देउवा समूहबाट महामन्त्रीका आकांक्षी थिए, तर टिकट पाएनन्। गगनले शेखर कोइराला टिमबाट महामन्त्रीमा प्रयत्न गरे, तर शेखरले मीनेन्द्र रिजाललाई साथ दिएपछि विश्वप्रकाश प्रकाशमान सिंह समूहबाट उठे र विजयी भए। महामन्त्री भएपछि दुवैको सहकार्य थप प्रगाढ भयो। उनीहरूले कांग्रेस रूपान्तरणको संकल्प सँगै गरे।

राजनीतिमा दुई महामन्त्रीबीच प्रतिस्पर्धा हुने आशंका थियो, तर विश्वप्रकाशले सुरुदेखि नै गगनलाई पार्टीको भावी सभापति स्वीकारे। उनी कहिल्यै आफूलाई सभापतिको दाबेदार बनाएनन्।
विशेष महाधिवेशनमा भावुक क्षणहरू
विशेष महाधिवेशनको बन्द सत्रमा गगनले भने, “यो महाधिवेशनबाट विश्वप्रकाशलाई चाहिएको केही छैन। उनलाई सभापति हुनु छैन। उहाँले आगामी पन्ध्रौं महाधिवेशनमा पनि सभापति हुन्न भनिसक्नु भएको छ ।”
बहुमत प्रतिनिधिले गगनलाई सभापति घोषणा गर्ने तयारीमा जुट्दै गर्दा विश्वप्रकाशले प्रस्ताव गरे— अब कांग्रेसको सभापति गगन, भावी प्रधानमन्त्री पनि गगन!
गगनले आफ्नो सम्बोधनमा विश्वप्रकाशप्रति गहिरो कृतज्ञता व्यक्त गरे। “विश्व दाइ जस्तै बोल्न पाए, उहाँ जस्तै लेख्न पाए, उहाँले जस्तै मिलाएर कुरा भन्न पाए हुन्थ्यो भनेर म, प्रदीप पौडेल, गुरु घिमिरेहरू उहाँकहाँ जान्थ्यौं,” गगनले सुनाए। “म उहाँको उपसभापति (नेविसंघमा) बनेर काम गरेको, दाइकै हस्ताक्षरबाट टिकट पाएर स्ववियु चुनाव लडेको।”
विश्वप्रकाशले पनि भावुक हुँदै भने, “म होइन, ऊ। अर्थात् विश्वप्रकाश होइन, गगन।” यो क्षणमा विश्वप्रकाशको अनुहार उज्यालो थियो— ‘जुनियर’ ले उछिन्ने भयो भन्ने कुनै इर्ष्या थिएन।
गगनको राजनीतिक यात्रा: संघर्षबाट शिखरसम्म
काठमाडौंमा जन्मे–हुर्केका गगन थापा कक्षा ९ मा सिद्धार्थ वनस्थली पढ्दै गर्दा कांग्रेसप्रति आकर्षित भए। बाल कांग्रेस, नेविसंघ हुँदै त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति, नेविसंघ उपसभापति–महामन्त्री बने। नेविसंघ सभापति बन्न रोकिए पनि २०६२–६३ को जनआन्दोलनपछि उनको यात्रा रोकिन सकेन।
२०६४ मा समानुपातिकबाट सांसद बनेपछि काठमाडौं–४ बाट लगातार जित्दै आए। वाक् शैली, जुझारूपन र स्पष्टताले उनी लोकप्रिय बने। बाह्रौं महाधिवेशनबाट केन्द्रीय सदस्य, तेह्रौंमा महामन्त्रीमा पराजित भए पनि चौधौंमा अत्यधिक मतले विजयी।
नियमित महाधिवेशन अड्किएपछि गगन र विश्वले ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशन बोलाए। यो जोखिमपूर्ण कदमले कांग्रेसलाई नयाँ बाटोमा पुर्यायो।
विश्वप्रकाश: धैर्य र समर्पणको प्रतीक
झापाको शान्तिनगरमा जन्मेका विश्वप्रकाश पनि विद्यार्थी राजनीतिबाटै उदाए। नेविसंघ सभापति हुँदा गगनलाई अघि बढाए। २०६४ मा समानुपातिक सांसद बन्ने प्रस्ताव अस्वीकार गरे। झापा–१ बाट दुई चुनाव हारे, तर २०७९ मा एमालेका अग्नि खरेललाई हराएर सांसद बने।

मन्त्री नबने पनि पार्टीमा केन्द्रीय सदस्य, महामन्त्री हुँदै विशेष महाधिवेशनमा उपसभापति। उनको धैर्य र गगनप्रतिको अटल विश्वासले यो सफलतालाई विशेष बनाएको छ।
यो युगलबन्दीले कांग्रेसमा पुस्तान्तरणको सन्देश दिएको छ। दुवैले विगतका कमजोरी स्वीकार गर्दै नयाँ कांग्रेस निर्माणको संकल्प गरेका छन्। यो सम्बन्धले पार्टी मात्र होइन, नेपाली राजनीतिमा नयाँ आशा जगाएको छ।








प्रतिक्रिया दिनुहोस्