काठमाडौं २९ भदौ । भदौ २३ र २४ गतेको ुजेनजीु प्रदर्शनका क्रममा अर्थ मन्त्रालयका ४४ वटा गाडी जलाइएको छ । जसमा अर्थमन्त्री चढ्ने दुईसहित १६ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ३३ वटामा भने आंशिक क्षति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अर्थ मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूका गाडी, मोटरसाइकल र स्कुटर जलेका छन् । मन्त्रालय भवनमा क्षति नभएको भए पनि बजेट महाशाखाको टहरा भने जलेको छ । बजेट महाशाखा टहराका १२ वटा कोठा र एउटा हलमा भएका सम्पूर्ण जिन्सी सामग्री जलेर नष्ट भएको छ । यही टहरामा स्टोर रहेकोले त्यो पनि जलेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले बताएका छन् ।
“अर्थको बजेट महाशाखा भएको टहरा जलेको छ । त्यसमा भएका फाइलहरू सबै नष्ट भएका छन्,” पाण्डेयले भने, “मन्त्रालयको भवन सुरक्षित नै छ । पार्किङमा भएका गाडी, मोटरसाइकल र स्कुटर जलेका छन् । केहीमा भने आंशिक क्षति छ ।”
३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर जलेर नष्ट भएका छन् । देशका विभिन्न स्थानमा रहेका १५ आन्तरिक राजस्व कार्यालयमा पूर्ण क्षति भएको छ । त्यसैगरी चार भन्सार कार्यालयमा पनि पूर्ण क्षति भएको छ । पाँच राजस्व कार्यालय र चारवटा भन्सार कार्यालयमा आंशिक क्षति भएको पाण्डेय बताउँछन् ।
यसरी पूर्ण क्षति हुने आन्तरिक राजस्व कार्यालयमा दमक, इटरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौँडा, वीरजञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा छन् । कृष्णनगर, धुलिखेल, इलाम सेवा कार्यालय र सिन्धुलीमा भने आंशिक क्षति भएको छ । यी आन्तरिक राजस्व कार्यालयमा तोडफोड गरेकाले कर्मचारी र कार्यालय प्रमुख मानसिक रूपमा कमजोर भएको पनि बताइएको छ ।
विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति भएको पाण्डेयले बताए । यी कार्यालयबाट हाल सेवा सुरु भइसकेको उनी बताउँछन् ।
जेनजीको प्रदर्शनका क्रममा संसद् भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय जलेर पूर्ण रूपमा क्षति भएको छ । यीबाहेक अन्य मन्त्रालयमा पार्किङ गरिएका गाडी, मोटरसाइकल र स्कुटर जलाइएको छ । कुनै–कुनै मन्त्रालयको भवनमा नै आंशिक क्षति भएको छ ।








प्रतिक्रिया दिनुहोस्