काठमाडौ २० साउन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यका भित्रका विभिन्न १५ वटा सडक अलपत्र पार्ने कांग्रेस नेतासमेत रहेका ठेकेदार कान्छाराम तामाङ पूर्णबहादुर तामाङ को कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भएको छ।
उनका कम्पनीसँगका सबै ठेक्का सम्झौता अन्त्य गरी कालो सूचिमा राख्न सिफारिस गरिएको हो। कांग्रेसका बहालवाला सांसद तामाङ पूर्वजलस्रोत राज्यमन्त्री समेत हुन्।
कर्णालीमा उनको निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका सडक वर्षौंदेखि अलपत्र अवस्थामा छन्। राजनीतिक पहुँचका आधारमा शक्ति दुरुपयोग गर्दै कान्छारामले वीरेन्द्रनगरको विभिन्न क्षेत्रका १५ वटा सडक निर्माणको काम अलपत्र छोडेका हुन्।
सोमबार उनलाई कालोसूचीमा राखिएको पत्र सार्वजनिक गर्दै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले कान्छाराम कन्स्ट्रक्सन कम्पनी मैजुबहाल–७ काठमान्डौसँगको ठेक्का सम्झौता अन्त्य गरी कम्पनीलाई कालो सूचिमा राख्न सिफारिस गरिएको जानकारी दिएको छ।
निर्देशनालयका अनुसार २०८१ मंसिर २० गते सम्मलाई म्याद थप गरिएको अवधिसम्म पनि ठेकेदारले पहिलेको जस्तै निर्माण कार्य सम्पन्न गर्न चासो नदेखाएपछि यो निर्णय गरिएको हो।
स्वघोषित कार्यतालिका अनुसार अपेक्षित प्रगति हासिल नगरेको, निर्देशनालयबाट विभिन्न मितिमा जारी भएका पत्राचार, ताकेता र सूचना तथा निर्णयहरुको बेवास्था गरेको निमित्त निर्देशक सूर्यबहादुर शाहीले बताए।
कर्णालीका मुख्यमन्त्री, मन्त्री तथा सचिवहरुको उपस्थितिमा राखिएका ठेक्का व्यवस्थापनसँग सम्बन्धि बैठकमा अनिवार्य उपस्थित हुन पटक–पटक पत्रचार तथा टेलिफोन मार्फत बोलाउँदासमेत कान्छारामको आधिकारिक प्रतिनिधिको उपस्थिति नभएको शाहीले जानकारी दिए।
त्यसपछि अत्यन्त जरुरी भनेर सार्वजनिक सूचना प्रकाशन गर्दा समेत अटेरी गरि निर्माण कार्य अलपत्र पारी चरम लापरवाही गरेको पत्रमा उल्लेख छ।
कानूनी प्रावधान अनुसार ठेक्का खरिद सम्झौता अन्त्य गरी प्रतिदिन सम्झौता रकमको ०।०५ प्रतिशत पूर्व निर्धारित क्षतिपूर्ति तिर्न ठेकेदारलाई पत्राचार गरिएको छ भने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखी पठाइएको निर्देशनालयले जनाएको छ।
वीरेन्द्रनगर सहरी प्लानिङ क्षेत्रअन्तर्गतका वडा नम्बर ७, ८ र १० मा पर्ने अलपत्र सडक निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्ने वाहानामा धोका दिँदै आएको थियो।
कम्पनीले पाँच हजार १४ मिटर सडक कालोपत्रेसहित निर्माण सम्पन्न गर्ने गरी २०७८ भदौ १७ गते १२ करोड ९४ लाख ३७ हजार ४६२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७९ फागुन २८ गतेभित्र सम्पूर्ण काम सक्नु पर्ने थियो। तर, तोकिएको समयसीमा गुज्रिएको डेढ वर्ष बितिसक्दा पनि आयोजनाको समग्र भौतिक प्रगति जम्मा ४१ प्रतिशत मात्रै छ।
पहिलो म्यादमा काम नभएपछि आयोजनाको म्याद २०८१ मंसिर २० गतेसम्मका लागि थपिएको थियो। तर, कम्पनीले काममा कुनै चासो देखाएन। पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर प्रेमचन्द पाण्डेका अनुसार यो निराशाजनक प्रगतिबिच ठेकदार कम्पनीले कुल ठेक्का रकमको करिब ३० प्रतिशत भुक्तानी लिइसकेको छ।
१५ मध्ये ५ सडकको निर्माण सुरु नै भएन
कान्छाराम कन्स्ट्रक्सनले जिम्मा लिएका कुल १५ वटा सडकमध्ये पाँच वटा सडकमा आजसम्म निर्माणको काम नै सुरु भएको छैन्। स्वयं नियामक निकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अगाडिको २२० मिटर सडक नै कान्छारामले बनाइदिएका छैनन्।
यसले ठेकदार कम्पनीले सरकारी निकायलाई कसरी ठाडै चुनौती दिइरहेको छ भन्ने प्रस्ट देखिन्छ। तर, राजनैतिक पहुँच र शक्तिको आडमा रहेका ठेकेदार कान्छारामसँग नियामक निकाय मौन बस्दै आएका छन्।
नियामक निकायको आँगनकै सडक अलपत्र पर्दा पनि ठेकदार कान्छारामका अगाडि प्रदेश सरकार निरीह बन्दै आएको छ।
यस्तै, कालिन्चोक–मिलनचोक सडक ९३८८ मिटर०, गण्डकी लाइन सडक ९१२० मिटर०, लालुपाते उत्तर सडक ९२०० मिटर०, रत्नराजमार्ग–सितल नगर सडक ९१६० मिटर० सडकको काम नहुँदा वर्षा भएसँगै हिलाम्य हुन थालेको छ। यी सडकमा नाला निर्माणदेखि कालोपत्रेसम्मका सम्पूर्ण काम बाँकी छन्। जसले गर्दा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर स्थानीयको जनजीवन कष्टकर बनेको छ।
त्यसैगरी पाँच वटा सडकमा नाला र सब–बेसको काम सम्पन्न भएपनि कालोपत्रे हुन सकेको छैन। यी सडक निर्माणको काम बिचैमा छाडिएकाले झन् सास्ती भएको छ। १८१ मिटरको डिभिजन वन कार्यालय अगाडिको सडक, ३३४ मिटरको खारखोली हटलाइन सडक, ४०० मिटरको इत्राम चोकदेखि जिल्ला प्रहरी अफिस अगाडिको सडक, २४० मिटर पूर्वाधार विकास निर्देशनालय अगाडिको सडक र ४४० मिटर महिला छात्रावासदेखि दैलेख रोड जोड्ने सडक कालोपत्रेको पर्खाइमा छन्।
यी सडकहरूमा बेस बिछ्याइएकाले घाम लाग्दा धुलो उड्ने समस्या छ भने सवारीसाधन चलाउँदा उछिट्टिने ढुंगाले पैदलयात्री र स्थानीय घरधनीलाई सास्ती दिएको छ। पानी पर्दा यो सडक हिलाम्य हुने गरेको छ। बाँकी पाँच वटा सडक ९खारखोली टेलिकम सडक, जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय सडक, बस्नेत नर्सरी सडक, डीआईजी चोक–खारखोली सडक र खजुरा भित्री मोडेल कलेज सडक० मा कालोपत्रे सकिए पनि रोड मार्किङको काम बाँकी छ।
कान्छाराम कन्स्ट्रक्सनले जिम्मा लिएका १५ सडकमध्ये एकतिहाइमा काम सुरु नै नभएको निर्देशनालयले जनाएको छ। अर्को एकतिहाइ सडक कालोपत्रेको पर्खाइमा छन्। वैशाख यता ठेकदारले कुनै काम नै गरेको थिएन।







प्रतिक्रिया दिनुहोस्