काठमाडौ १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवको भनाइलाई लिएर कडा प्रतिक्रिया दिनुभएको छ । ट्रम्पले दुई परमाणु पनडुब्बीलाई ‘उपयुक्त ठाउँमा’ तैनाथ गर्न आदेश दिएको बताउनुभएको छ ।
उहाँले यो कदम सावधानीका रूपमा चालेको र जिम्मेवार व्यक्तिका गैरजिम्मेवार र उत्तेजक शब्दहरू केवल भाषणमा सीमित नहुन सक्छन् भन्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
ट्रम्पले पनडुब्बीहरू कहाँ तैनाथ गरिएको हो भन्ने खुलाउनु भएको छैन । अनि अमेरिकी सुरक्षा प्रोटोकलअनुसार यस्तो जानकारीलाई गोप्य नै राखिन्छ । रुसी पूर्वराष्ट्रपति मेदवेदेवले अमेरिकी नीति र नेताहरूको आलोचना गर्दै आउनुभएको छ ।
ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसलाई चेतावनीसहित अल्टिमेटम दिएको केही दिनपछि मेदवेदेवले उहाँलाई ‘धम्की दिने’ र ‘युद्ध निम्त्याउने’ व्यक्तिका रुपमा टिप्पणी गर्नुभएको थियो । साथै मेदवेदेवले तेस्रो विश्वयुद्ध शुरू हुन लागेको समेत बताउनुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्