काठमाडौ १३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका छन्।
मंगलबार हेटौंडामा संसदीय दल नेता तामाङका पक्ष र विपक्षमा मतविभाजन गरिएको थियो।
जसमा मुख्यमन्त्रीसमेत रहेका संसदीय दल नेता तामाङको पक्षमा जम्मा १५ जना सांसद उभिए भने ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना सांसद उभिएका छन्।
बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।
‘आज पक्ष र विपक्षमा मतविभाजन गरियो, मुख्यमन्त्रीका पक्षमा १५ र विपक्षमा २२ मत आयो,’ सांसद मीनकृष्ण महर्जनले भने, ‘भोलि संसदीय दल नेता छान्न चुनाव हुन्छ।’
संसदीय दल नेताको हैसियत गुमाएकोले मुख्यमन्त्री तामाङ फेरि संसदीय दल नेता निर्वाचनमा प्रतिस्पर्धा गर्छन् कि गर्दैनन् यकिन भइसकेको छैन।
अब सांसद बानियाँ संसदीय दल नेता र नयाँ मुख्यमन्त्री हुने तयारीमा छन्।
मुख्यमन्त्री लामाको मन्त्रिपरिषदमा रहेका ५ जना कांग्रेसका मन्त्रीले पदबाट राजीनामा दिइसकेका छन्।
गत शुक्रबार २१ जना सांसदले दल नेता तामाङविरूद्ध हस्ताक्षर गरेका थिए।
तामाङ र बानियाँ दुवै सभापति शेरबहादुर देउवा पक्षका हुन्।







प्रतिक्रिया दिनुहोस्