काठमाडौं, १३ साउन । नेपालका राजनीतिक दलहरू आजभोलि कुन दिशामा गइरहेका छन् भन्ने प्रश्न आम नागरिकको मनमा उठ्नु स्वाभाविक भइसक्यो ।संसददेखि सडकसम्म, सिंहदरबारदेखि पार्टी कार्यालयसम्म र नेतादेखि कार्यकर्तासम्म–कहीँ पनि स्पष्टता छैन । यति धेरै विभाजन, गुटबन्दी, स्वार्थ, र टकराव देख्दा लाग्छ, दलहरू आफ्नो मूल उद्देश्य बिर्सिएर सत्ता र शक्तिको जालोमा अल्मलिएका छन् । आजको राजनीतिक अवस्था नियाल्ने हो भने देखिन्छ– दलहरू अब संगठन र विचारले होइन, व्यक्तिको ‘ईगो’ र सत्तामा पुगेर शक्ति परिचालन गर्ने भोकले चल्न थालेका छन् । कुन नेताले कुन पार्टीका कसलाई सघाउने भन्ने अनौपचारिक गठबन्धनहरू बनिरहेका छज–तर देश र जनताको समस्यामा दल र नेताको ध्यान शून्य देखिन्छ ।
‘ आम नागरिकको नजरमा अहिलेसम्म नेपालका राजनीतिक दलहरूले सिद्धान्तमा बाहेक व्यावहारिक अभ्यासद्वारा आफूलाई प्रमाणित गर्न सकेका छैनन् । कम्युनिस्ट पार्टीको कुरा छाडौँ, जन्मजात लोकतन्त्रवादी दल नेपाली काँग्रेसले पनि आफ्नो आन्तरिक जीवनलाई पूर्ण प्रजातान्त्रिक बनाउन सकेको देखिँदैन । जथाभावी बोल्न पाउनु मात्र आन्तरिक लोकतन्त्र होइन । सच्चा लोकतन्त्रमा बरु मनपरी बोल्न पाइँदैन । जब दलका गतिविधिमा पूर्ण लोकतन्त्र देखिँदैन, नागरिक मूल्याङ्कन फरक भइहाल्छ । फेरि लोकतन्त्र व्यवहारले सिद्ध गर्नुपर्ने राजनीतिक प्रणाली हो । बोलेर मात्र पुग्दैन, यस प्रणालीलाई काम गरेर सिद्ध गर्नुपर्छ । कम्युनिस्ट पार्टीको त फरक कुरा भइहाल्छ । त्यसैले नेपालका राजनीतिक दलहरूले आफूलाई पूरै सुधारनुपर्ने देखिन्छ ।
सिद्धान्त र विचारमा अडिक राजनीति नेपालमा नहुँदा यस्तो समस्या सिर्जना हुने गरेको छ । सबैजसो दलका नेताहरु आफू केन्द्रीत छन् । आफूलाई केन्द्रमा राखेर आफ्नो अहम, स्वार्थ र आसेपासेलाई मात्र केन्द्रमा राखेर अघि बढेका छन् । साँच्चै जनता, समुदायलाई केन्द्रमा राखेको भए यति पार्टी भित्रै यति धेरै गृुट उप गुट बन्ने थिएन होला ? व्यक्तिवादी सोच हाबी भएको कारण नै दलमा यस्ताघात अन्र्तघात भईरहेको छ ।
नेपालका राजनीतिक दलको जन्म हुँदा नै ‘टुटफुट’ को ‘जीन’ लिएर पो जन्मन्छन् कि भन्ने शंका उत्पन्न हुन थालेको छ । हुन पनि नेपालमा दल विभाजनको लामो श्रृङ्खलालाई केलाउने हो भने यस्तै देखिन्छ । नेपालका कम्युनिस्ट पार्टी मात्र नभएर नेपाली कांग्रेस, पञ्च पृष्ठभूमिको पार्टी राप्रपा, जातीय र क्षेत्रीय नाराबाट उठेका मधेसवादी र अन्य वैकल्पिक शक्ति भन्दै आएका साना दलले पटकपटक टुटफुट र जुटको तीतो इतिहास बनाइसकेका छन् । पहिलोपटक २००६ सालमा भारतको कलकत्तास्थित श्यामबजारमा औपचारिक रुपमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी ७० वर्षे इतिहासमा दर्जनौंपटक टुटफुट र जुट भइसके । फुटेर नयाँ पार्टी बनेका पार्टी नफस्टाएको, नधानिएको बरु मूलधारमै फर्केको वा अन्य पार्टीसँग विलय भएको विभिन्न नयाँ पार्टीका उदाहरणबाट प्रष्ट हुन्छ ।
अहिले दलहरु देश र जनताका लागिभन्दा पनि शक्ति, पद र प्रतिष्ठाका लागि रस्साकस्सी गरिरहेका छन् । शक्ति प्रदर्शन गर्ने र पदमा को पूगनेमा अल्झिएर राष्ट्रिय हितको मुद्दा ओझेल परेको छ । दलहरु आ–आफ्नो दलीय शक्ति बलियो बनाउन कसरत गरिरहेका छन् । महाधिवेशनलाई आधार बनाएर जनतालाई आफूतिर तान्ने र संगठित गर्ने अभियानमा सबै दलहर देखिन्छन् । मुलुकको संविधानले नै दल खोल्न पाउने अधिकारलाई स्वतन्त्र छाडिदिएका कारण दलहरु च्याउसरी हुनु स्वाभाविकै हो । सिङ्गो मुलुकको सामाजिक, आर्थिक स्थितिमा सुधार गर्नु अहिलेको आवश्यकता हो । मुलुकको नेतृत्व राजनीतिबाट हुने भएकाले यस विषयमा दलहरुले गम्भीर चासो दिनु जरुरी छ । दलहरु दलगत स्वार्थमा अलिझनुको साटो राष्ट्रिय स्वार्थमा केन्द्रित बन्नुपर्छ । राजनीतिक दलहरुले जनतालाई व्यापक सपना बाँडेर चुनाव जितेर सत्तामा पुग्ने र सत्तामा पुगिसकेपछि कार्यान्वयनमा शून्य पहल देखिएको छ । नेतृत्वको नियत र नीति नै दललाई जीवन्त बनाउने र राष्ट्रको र राजनीतिक हितका लागि प्रयोग गर्ने हुनुपर्ने हो । त्यसका विपरीत नितान्त आफ्नो, परिवारको, गुटको र बढीमा दलको फाइदामा केन्द्रित गर्ने उद्देश्यले प्रश्रय पाउँदा देशको दुर्दशा निश्चितप्रायः हुन्छ । त्यसैले अबको विषय भनेको जनजागरणमार्फत धमिलिएको राजनीति सङ्ल्याउनु नै हो तर ठुला, पुराना भनिने दलबाट केहि हुन सकेन भन्दै नयाँ पार्टीको समेत हालत उहि पुरानोको भन्दा कम छैन ।
अहिले नागरिकहरू दलका गतिविधिसँग पटक्कै सन्तुष्ट छैनन् । यसको पर्याप्त सूचना दलहरूलाई छ, तथापि सुध्रने बाटोमा नहिँड्ने प्रवृत्ति खतरनाक छ । दललाई पार्टीका मुख्य नेताले आफ्नो निजी सम्पत्ति ठान्ने प्रवृत्ति व्याप्त छ । दलका अधिवेशनहरू समयमा हुँदैनन । भ्रातृ वा वर्गीय सङ्गठनहरू आफ्नो उद्देश्य छाडेर अन्तै बरालिएको पाइन्छ । आफ्नो मुख्य काममा कुनै चासो देखिँदैन । दण्ड र पुरस्कारको व्यवस्था छैन ।
मिहिनेत गर्ने र केही पनि काम नगर्नेका बीच कुनै भेद छैन । अझ केही काम नगर्ने व्यक्ति नेता रिझाएर अघि बढेको देखिन्छ । सरकारमा गएको बेला प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगर्ने व्यक्ति दण्डित भएको वा निरुत्साहित भएको पाइँदैन । जनप्रतिनिधिले आफूलाई सदैव मतदाताका बीचमा राख्नुपर्नेमा निहित स्वार्थमा डुबेको देखिन्छ । यस्तो हुँदा पनि दलले सचेत गराएको पाइँदैन । र त्यस्तै व्यक्तिले बारम्बार अवसर पाउने गरेका छन् । यी सबै घटनाहरूलाई नागरिकले सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको हुन्छ । त्यति मात्र होइन दलका नेताहरू देश र नागरिकप्रतिको दायित्व बिर्सिएर आफ्नो पद र प्रतिष्ठाका लागि खुलेआम कलहमा उत्रनुले दलको प्रतिष्ठा बढाउँदैन । यस्ता दलहरूप्रति नागरिकको मनमा श्रद्धा बाँकी रहँदैन । त्यसैले नेपालका ठूला र नवोदित दल समेतले आफ्नो कार्यशैलीमा आमुल सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ ।







प्रतिक्रिया दिनुहोस्