काठमाडौ ८ साउन । कञ्चनपुर – महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौं भइसक्यो । फुलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन अवस्थामा छ । मूल नहर निर्माण भएको २८ किलोमिटरमा २२ वटा शाखा नहरमध्ये आधा निर्माण भइसकेका छन् । यस क्षेत्रमा तीन हजार हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतले टनकपुरबाट नहरमा पानी नछोड्दा नहर यहाँका किसानले सिचाँइ सुविधा पाउन सकेका छैनन् ।
टनकपुर ब्यारेजबाट भारतीय पक्षले पानी नछाड्दा किसानको खेतमा पानी पुग्न नसकेको हो । नहर निर्माण भएर परीक्षणसमेत भइसकेको अवस्थामा भारतीय पक्षले आनाकानी गर्दा पानी सञ्चालन हुन सकेको छैन । चार वर्षअघि नहर परीक्षणका क्रममा टनकपुरबाट आएको पानीले धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने नहरमा पानी आउन सकेको छैन ।
‘नहरमा पानी आयो भने किसानको तीन हजार हेक्टर खेतमा पुर्याउन सकिन्छ’, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक डा। योगेन्द्र मिश्रले भन्नुभयो, ‘तीन हजार हेक्टरमा संरचना तयार छन्, महाकालीबाट पानी आएको अवस्थामा थप पाँच हजार हेक्टरमा सिँचाइ सुविधा पुग्छ ।’ उहाँले टनकपुरबाट पानी छाड्नका लागि थुप्रै प्रयास भए पनि नेशनल हाइड्रोपावर कर्पोरेशन ९एनएचपीसी० ले पानी छाड्न नमानेको बताउनुभयो ।
एनएचपीसीले माथिल्लो तहबाटै उद्घाटन गरेर मात्रै पानी छाड्न सकिने बताउँदै आएको छ । ‘दिल्लीको आदेश आउनेबित्तिकै पानी छाड्छौँ भन्ने जवाफ एनएचपीसीका कर्मचारीले दिने गरेका छन्’, उहाँले भन्नुभयो, ‘यस विषयमा हामीले विभागमा समेत जानकारी गराइसकेको छौँ ।’
दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा यस आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । आउँदो भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ । भ्रमणका क्रममा यो विषयले प्राथमिकता पाउन सके नेपालले महाकाली सन्धि अनुसारको पानी महाकाली नदीबाट पाउने छ ।
नहरमा पानी सञ्चालन हुन सके निर्माण कम्पनीलाई पनि कामको गति बढाउन दबाव पुग्ने आयोजना निर्देशक मिश्र बताउनुहुन्छ । ‘अहिले जग्गा अधिग्रहण गर्दा पनि नहरमा पानी आएको छैन भन्ने जवाफ आउँछ’, उहाँले भन्नुभयो, ‘नहरमा पानी सञ्चालन हुन सकेमा खेतमा सिँचाइ हुने आसमा यी समस्याको समाधान पनि हुने थियो ।’ उहाँले आउँदो तीन वर्षभित्रमा ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्मको मूल नहर निमार्ण सम्पन्न गरी पाँच हजार हेक्टरमा सिचाँइ पुगाउने गरी काम भइरहेको बताउनुभयो ।
‘यहाँ जग्गाको मुख्य समस्या छ, यहाँका नागरिकले मुआब्जा रकम बढी दाबी गर्ने गरेका छन्, नहर बनाउनुपर्ने ठाउँमा ऐलानी जग्गा छ, मुक्त कमैयाको जग्गा छ’, उहाँले भन्नुभयो, ‘जग्गा र वनको समस्याले आयोजनाको काममा ढिलाइ हुँदै आएको छ ।’
महाकाली सन्धिमा सम्झौता भएको ६ महिनाभित्र नहर निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि सम्झौताको ३० वर्षसम्म नेपालले पाउनुपर्ने पानी नपाएको महाकाली सन्धिका जानकार विष्णु अवस्थीले बताउनुभयो । ‘सन्धि सम्झौता भएको तीन दशकसम्म पनि नेपालले पानी पाउन सकेको छैन, यसमा सरकार गम्भीर भएर लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘यस पटक प्रधामन्त्रीको भ्रमणमा यो विषयले प्राथमिकता पाउनुपर्छ, नेपालले सन्धि सम्झौता अनुसारको पानी पाउनुपर्छ ।’
अवस्थीका अनुसार नेपालतर्फ नहरका संरचना तयार भए पनि सरकारको तर्फबाट पहल नपुग्दा यहाँका किसानको खेतमा पानी पुग्न सकेको छैन । उहाँले सन्धि सम्झौता अनुसार टनकपुर ब्यारेजबाट हिउँदमा ३०० क्यूसेक र बर्खामा एक हजार क्यूसेक पानी पाउनुपर्ने बताउनुभयो ।
आर्थिक वर्ष २०६३र६४ देखि शुरू भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि शुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निमार्ण कार्यले गति लिन सकेको थिएन । सरकारले आर्थिक वर्ष २०७६र७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निमार्ण कार्यले गति लिएको थियो ।
लक्ष्य अनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निमार्ण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार अहिलेसम्म नौ अर्ब रुपैयाँ बजेट खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा पनि आयोजनाका लागि झन्डै दुई अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । कञ्चनपुरमा अहिले महाकाली सिचाँइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध छ ।
विसं २०४२ मा शुरू भई २०४८ मा सम्पन्न भएको महाकाली सिचाँइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिचाँइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिका तथा बेलडाँडी गाउँपालिकासम्म सिचाँइ सुविधा उपलब्ध छ । महाकाली सिचाँइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको ३५ हजार हेक्टरमा सिचाँइ सुविधा पुग्नेछ ।







प्रतिक्रिया दिनुहोस्