काठमाडौ ३१ असार । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले भारतमा मंगलबार पहिलो शोरुम खोलेको छ।
विश्वकै तेस्रो ठूलो अटोमोटिभ बजार मानिने भारतमा अर्बपति इलोन मस्कको सवारी कम्पनी ‘डेब्यु’ गरेको हो।
वित्तीय राजधानी मानिने मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्समा टेस्लाको शोरुम खुलेको एपीले जनाएको छ। यसले टेस्लाको फ्ल्यागसि रिटेलको रुपमा सेवा दिने बताइएको छ।
लामो समयको चर्चाका बीच टेस्ला भारतमा प्रवेश गरेको हो। आफ्ना मुख्य बजारहरु अमेरिका र चीनमा व्यापक चुनौती र प्रतिस्पर्धा खेपिरहेको टेस्लालाई भारतीय बजारले ठूलो सहयोग मिल्न सक्नेछ।
गत अप्रिल–जुन अवधिमा टेस्लाका विद्युतीय कारको बिक्री घट्न पुगेको थियो। भारतले सन् २०३० सम्म विद्युतीय गाडीको बजार हिस्सा ३० प्रतिशत पु¥याउने लक्ष्य राखिरहेका बेला टेस्लाको आगमन भएको हो।
भारतमा टेस्लाले आफ्ना लोकप्रिय मोडल वाई कारहरु आयात र बिक्री गर्नेछ। यसको आधार मूल्य ६७ लाख ८० हजार भारु अर्थात् ७९ हजार ८९ अमेरिकी डलर हुनेछ। रियर ह्विल ड्राइभको मूल्य ६० लाख भारु हुनेछ। यही वर्षको तेस्रो त्रैमासिकबाट कार डेलिभरी सुरु हुने बताइएको छ।
भारतमा टेस्लाको प्रतिस्पर्धा टाटा र महिन्द्राभन्दा पनि बढी बीएमडब्लु, मर्सिडिज बेन्ज ग्रुप एजीसँग हुनेछ।







प्रतिक्रिया दिनुहोस्