काठमाडौं । जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ। उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।
अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
प्रहरीले रातिको समयमा सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिएको विषयमा यादवले धम्क्याएको प्रहरीको दाबी छ। सार्वजनिक भएको अडिओमा अध्यक्ष यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै तथानाम गाली गरेका छन्। एसपी खड्कालाई लुट्न तराईमा आएको भन्दै उनले गाली गरेको अडिओमा सुनिन्छ।
यादवले यसअघि प्रदेश मन्त्रीलाई पनि यस्तै धम्कीपूर्ण भाषामा म्यासेज पठाएको पाइएको छ। उक्त म्यासेज पनि प्रहरीले अबको कारबाहीका लागि प्रमाणका रुपमा लिने जनाएको छ।
‘उहाँ सधैँ लफडा गर्ने मान्छे हो। अहिले पनि फेरि प्रहरीलाई गाली गर्नु भएछ’, मधेस प्रदेशका प्रहरी अधिकारीले भने, ‘प्रहरीले सुरक्षा दिँदा उहाँलाई के समस्या भयो हामीले बुझेको छैन। जिल्ला प्रशासन कार्यालयबाट आदेश आएपछि सुरक्षा दिनु हाम्रो कर्तव्य हो।’
प्रहरीले यादवले यसअघि धम्क्याएका अरुसँगको प्रमाण पनि संकलन गरिरहेको र यस विषयमा पनि टिप्पणी उठाएर कारबाही गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्