काठमाडौ १२ असार । सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु निर्यात गरेवापत दिइने अनुदानका लागि सम्बन्धित खातामा एक अर्ब १९ करोड रूपैयाँ जम्मा गरेको छ।
पछिल्ला चार वर्षदेखि निर्यात अनुदान वितरणमा ढिलाइ हुँदै आएको अवस्थामा यो वर्ष पनि अपर्याप्त रकम जम्मा गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले उक्त रकम मंगलबार ‘निर्यात अनुदान सोधभर्ना खाता’मा जम्मा गरेको हो ।
अब उक्त रकम नेपाल राष्ट्र बैंकमार्फत निर्यातमुखी उद्योगले सञ्चालन गरेका खातामा जम्मा गरिनेछ। यसअनुसार उद्योगीहरूले विगतको बक्यौता र चालु आर्थिक वर्षको चैत महिनासम्म गरेको निर्यातको आधारमा अनुदान प्राप्त गर्नेछन्।
तर, यो रकम निर्यात अनुदानका लागि आवश्यक कुल रकमको तुलनामा अत्यन्तै कम भएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार हालसम्म ६ अर्ब रूपैयाँ बराबरको अनुदानका लागि निवेदन परेको छ। तीमध्ये २ अर्ब ७२ करोड रूपैयाँ स्वीकृत भइसकेको छ भने बाँकी निवेदनहरू स्वीकृतिको प्रक्रियामा छन्।
निर्यात प्रोत्साहन गर्न सरकारले हाल ३६ प्रकारका वस्तु निर्यात गरेबापत ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था लागू गरेको छ।
यद्यपि अनुदान दिने वस्तु र प्रतिशत क्रमशः बढाइँदै गए पनि बजेट पर्याप्त नहुँदा बक्यौता रकम हरेक वर्ष बढ्दै गएको हो।








प्रतिक्रिया दिनुहोस्