काठमाडौं १० असार। अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मंगलबार बिहानदेखि इजरायल र इरानबीच युद्धविराम सुरु भएको बताएका छन् । तर इजरायल सरकारले तत्काल कुनै टिप्पणी गरेको छैन भने इरानले लडाइँ रोक्न सहमति जनाएको बताइएको छ । तर पनि इरानले मिसाइलहरूको लहर प्रहार इजरायलमाथि प्रहार गर्दा कम्तीमा चार जनाको ज्यान लिएपछि युद्धको अवस्थाबारे झन अनिश्चितता कायम रहिरहेको छ।
ट्रम्पले यो घोषणा इजरायल र इरानबीच एक हप्ताभन्दा बढी समयदेखि मिसाइल प्रहारहरू भएको र अमेरिकी बमवर्षकहरूले इरानी आणविक सुविधाहरूमा आक्रमण गरेको दुई दिनपछि गरेका हुन् ।
ट्रम्पले सुरुमा मंगलबारदेखि युद्धविराम चरणबद्ध रूपमा लागू हुने संकेत गरेका थिए। युद्धविरामका सटीक सर्तहरू भने स्पष्ट गरिएको छैन । पछि तेहरानको स्थानीय समय अनुसार बिहान ८ः ३८ बजे सामाजिक सञ्जालमा गरेको पोस्टमा ट्रम्पले युद्धविराम सुरु भएको बताको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले बिहान ४ः३० बजे सामाजिक सञ्जालको एक पोस्टमा युद्धविराम पहिल्यै लागू भइसकेको सुझाव दिएको बताउँदै इरानी सेनाले युद्धविराम लागू हुनुभन्दा पहिलेको ‘अन्तिम मिनेटसम्म’ लडिरहेको बताएका थिए। इरानी सरकारी टेलिभिजनले पछि युद्धविरामको अवस्था जारी भएको घोषणा गरेको छ ।
उता इरानको राष्ट्रको आपतकालीन सेवाले इरानबाट आएको मिसाइलको यो पछिल्लो प्रहारमा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेको। छ।
दुई परस्पर विरोधी शक्तिहरूले युद्धविरामको प्रारम्भिक घण्टाहरूमा आक्रमणको आदानप्रदान गर्नु असामान्य नभएको बताइएको छ ।
ट्रम्पको दाबी इरानले कतारको अल उदेइद हवाई अड्डामा मिसाइल प्रहार गरेको केही घण्टापछि आएको हो । कतारको अमेरिकी सैन्य अड्डा मध्य पूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा हो । अल उदेइदमा करिब १० हजार बढी अमेरिकी सैनिकहरू तैनाथीमा अमेरिकी सेन्ट्रल कमान्डको क्षेत्रीय मुख्यालयको रूपमा क्रियाशील छ ।
यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ट्रम्पको पोस्टलगत्तै भनेका छन् युद्ध ‘प्रभावकारी रूपमा समाप्त’ भएको छ र अब ‘वास्तविक शान्ति प्रक्रिया पुनः सुरु गर्ने अवसर’ छ।
न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनको तर्फबाट शीर्ष कतारी अधिकारीहरूले हस्तक्षेप गरेर इरानलाई अमेरिकी युद्धविराम प्रस्तावमा सहमत गराएको र इजरायलले पनि सहमति जनाएको जानकारी दिइएको थियो ।
इजरायली अधिकारीहरूले पहिल्यै लडाइँ चाँडै समाप्त हुन सक्ने सुझाव दिएका थिए। आइतबार राति, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल इरानविरुद्धको युद्धमा आफ्नो लक्ष्यहरू प्राप्त गर्न ‘धेरै, धेरै नजिक’ भएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्